काठमाडौं– कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराजलाई जेलमुक्त गर्न बुधबार सर्वोच्च अदालतले आदेश दिए पनि अहिलेसम्म छुटेका छैनन्।
सर्वोच्चको आदेशपछि भक्तपुर जिल्ला अदालतले केन्द्रीय कारागार जग्गनाथदेवललाई पत्र पठाउँदै छाड्न आदेश दिएको थियो। तर अहिलेसम्म शोभराज भने केन्द्रीय कारागारमै रहेका छन्। यसबारे केन्द्रीय कारागारले भने काठमाडौं जिल्ला अदालतको पत्र नआइकन छोड्न नमिल्ने बताएको छ।
केन्द्रीय कारागारका जेलर ईश्वरप्रसाद पाण्डेले भने, ‘काठमाडौं जिल्लामा पनि उनीसम्बन्धी मुद्दा रहेको भन्ने जानकारी आएको छ। काठमाडौं जिल्ला अदालतबाट पत्र नआइकन छाड्न मिल्दैन।’
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्यूतमणि नेउपाने भने शोभराजको मुद्दाको बारेमा केही थाहा नभएको बताउँछन्। ‘सरकारी वकिल कार्यालयमा भने उनको मुद्दा अहिले केही पनि छैन,’ नेउपानेले नेपाल लाइभसँग भने।
बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई जेलमुक्त गर्न मात्रै होइन १५ दिनभित्र स्वदेश फ्रान्स पुर्याउनसमेत आदेश दिएको छ।
सर्वोच्चको उक्त आदेशसँगै १९ वर्षभन्दा लामो जेल जीवनबाट शोभराज बाहिर निस्कने भएका थिए। तर काठमाडौं जिल्ला अदालतको पत्र नआएको भन्दै शोभराज रिहाइको प्रक्रिया कारागारले अघि बढाएको छैन।
जन्मकैद २० वर्ष कैद सजाय तोकिएका शोभराज कैद बसेको २०८० असोज १ गते २० वर्ष पूरा हुन्छ। ५० प्रतिशत कैद भुक्तानी, कोराना माहामारी, वृद्ध र बिरामी भएको दाबी गर्दै उनी रिहाइको माग गर्दै सर्वोच्च पुग्ने गरेको थिए। अन्ततः १ वर्ष अघि नै शोभराजलाई छाड्न सर्वोच्चले आदेश दिएको थियो।
शोभराज नेपालमा विदेशी नागरिकको हत्या गरेको अभियोगमा दोषी ठहर भएका हुन्। उनले २०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेको खुलेको थियो।
उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए। त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता देखिएको थियो।
सोही मुद्दामा सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल पनि भए। २०६० मा नेपाल आउँदा भने उनी पक्राउ परेका थिए। त्यसयता उनी केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।