काठमाडौं– परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको ज्यान लिने मोटरसाइकल चालक जेल चलान भएका छन्। मोटरसाइकल चालक तनहुँको दमौलीका २४ वर्षीय मिलन राना पुर्पक्षका लागि जेल चलान भएका हुन्।
काठमाडौं जिल्ला अदालतले केही दिनअघि रानालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएपछि कारागार पठाइएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गोविन्द पुरीले जानकारी दिए।
गत कात्तिक १८ गते अधिकृत सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो। मन्त्रालयबाट घर फर्किने क्रममा सिंहदरबारको पूर्वी गेटअघि बाटो काट्ने क्रममा ३२ वर्षीया सुब्बालाई प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। उपचारका लागि उनलाई तत्कालै काठमाडौं मोडल अस्पतालमा पठाइएको थियो। अस्पतालले उनलाई मृत घोषित गरेको थियो।
उनी २०६९ सालमा परराष्ट्र सेवामा प्रवेश गरेकी अधिकृत सुब्बा परराष्ट्र मन्त्रालयको राष्ट्र संघ महाशाखामा कार्यरत थिइन्। त्योभन्दा अघि इजरायलस्थित नेपाली राजदूतावास, राहदानी विभागमा समेत उनले काम गरेकी थिइन्।
१० वर्षसम्म कैद माग
अधिकृत सुब्बालाई ठक्कर दिने मोटरसाइकलका चालक राना पनि घाइते भएका थिए। उपचारपश्चात प्रहरीले उनलाई हिरासतमा लिएर अनुसन्धान गरेको थियो। २५ दिन लामो अनुसन्धान सकाएपछि प्रहरीले उनलाई सवारी ज्यानको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल पेश गरेको थियो।
उनीविरुद्ध यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको थियो। १६१ को २ अन्तर्गत उनीविरुद्ध मुद्दा चलाइएको थियो। जसमा लापरबाही गरी सवारी चलाएबाट ज्यान गएमा तीन वर्षदेखि १० वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ। सोहीअनुसार रानालाई १० वर्षसम्म कैदको माग गरिएको थियो।
उक्त मुद्दामा जिल्ला अदालतले तत्काल प्रमाणबाट राना निर्दोष हुन् भन्नसक्ने अवस्था नरहेको भन्दै पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो। साथै, यस्तो कसुरमा ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म क्षतिपूर्ति समेत हुनुपर्ने व्यवस्था छ ।
यता, परराष्ट्र मन्त्रालयले पनि निजामति ऐन–नियमावलीअनुसार अधिकृत सुब्बाको परिवारले क्षतिपूर्ति पाउने बताएको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल लाइभसँग भनिन्, ‘यही नै यस्तो क्षतिपूर्ति पाउँछन् भनेर मैले अहिले भन्न मिल्दैन। निजामति ऐन निमायवलीअनुसार के छ त्योबमोजिम प्रक्रिया अघि बढ्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।