काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएसँगै यती एयरलायन्सले उडान शुरु गर्ने तयारी गरेको छ। नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय नगरीमा जनवरी १ तारिकबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एयरलायन्सले उडान भर्ने तयारी गरेको हो।
उडान भर्ने तयारीस्वरुप एयरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, आवश्यक तालिम दिने, भूमिस्थ उपकरण व्यवस्थापन गर्ने, विमानस्थलस्थित कार्यालय तयारी गर्ने आन्तरिक कामलाई तीव्र बनाएको छ। सोही तयारीअनुसार बिहीबार (डिसेम्बर २२)का दिन बिहान १० बजे नयाँ विमानस्थलमा प्रशिक्षक चालकदलले एटीआर–७२ विमानमार्फत यतीको पहिलोपटक प्रदर्शन उडान गर्न लागेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
यती एयरलाइन्सले चालकदलका सदस्यहरूलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एयरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको हो। यसरी हुने उडानले चालक दलका सदस्यहरूलाई नयाँ विमानस्थलको बस्तुस्थिति जानकारी हासिल गर्न सहज हुनेछ।
काठमाडौंबाट पोखराका लागि यतीले दैनिक ७ वटा उडानहरू गर्दै आएको छ भने अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नियमित उडानहरूको संख्या थप गर्ने र पोखरा बाट अन्य विमानस्थलहरूमा क्षेत्रीय उडान गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।