काठमाडौं– कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज आजै छुट्ने भएका छन्। न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई जेलमुक्त गर्न दिएको आदेश कार्यान्वयन गर्दै रिहाईको तयारी गरिएको हो।
सर्वोच्चको उक्त आदेशसँगै १९ वर्षभन्दा लामो जेल जीवनबाट शोभराज बाहिर निस्कने भएका छन्। केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका शोभराज थुनामुक्त हुने प्रक्रियासमेत अघि बढिसकेको छ।
शोभराजलाई जन्मकैद (२०) को कैद सजायको फैसला गर्ने जिल्ला अदालतमार्फत् पत्र कारागार कार्यालय सुन्धारा पुगेपछि उनी औपचारिक रुपमा रिहाई हुनेछन्। कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीले भने, ‘अदालतले नै छाड्नु भनिसकेपछि हामीले थुनामा राखिराख्ने कुरा भएन। पत्र आएपछि उहाँ छुट्नुहुन्छ।’
‘सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै शोभराजलाई छाड्नका लागि दिएको आदेश भक्तपुर जिल्ला अदालत हुँदै कारागार कार्यालय जगन्नाथदेवल पुगेपछि उनी रिहाई हुन्छन्,’ सिकावोटीले भने।
तर, अहिलेसम्म भक्तपुरबाट पत्र नआइसकेको र आएपछि रिहाईको प्रक्रिया अघि बढ्ने बताइएको छ। ‘शोभराजलाई भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेकाले भक्तपुर जिल्ला अदालतबाट औपचारिक पत्र आएपछि उहाँको रिहाई प्रक्रिया अघि बढ्छ’, सिवाकोटीले भने।
सर्वोच्चले भक्तपुर जिल्ला अदालतलाई फैसला कार्यान्वयका लागि पठाइसकेको छ। भक्तपुर जिल्ला अदालतले बिहीबार नै कारागार कार्यालय जगन्नाथदेवललाई पत्र पठाउने तयारी गरेको छ। स्रोतका अनुसार उक्त पत्र आएपछि आजै शोभराज रिहाई हुनेछन्।
सर्वोच्चले भनेजस्तो १५ दिनभित्र फ्रान्स पठाउनुपर्ने हुन्छ। त्यतिन्जेलका लागि अध्यागमनको निगरानीमा शोभराजलाई राख्ने स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
फ्रान्सेली नागरिक शोभराज सन् २००३ मा नेपालमा पक्राउ परेका थिए। कर्तव्य ज्यानको मुद्दामा उनलाई जिल्ला अदालत भक्तपुरले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।