बैतडी– बैतडीका शिक्षक धनबहादुर विष्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पाटन पुगेको छ। प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले घटनाको अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
सुर्नया गाउँपालिका–२ ग्वानी घर भई कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर विष्ट गएको शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए। शिक्षक विष्टको हत्या भएको परिवारजनले आशंका गरेर अहिलेसम्म शव बुझ्न मानेका छैनन्। यद्यपि, शवको पोष्टमार्टम भने गरिसकिएको छ।
सीआईबीको टोलीले बैतडी प्रहरीसँग मिलेर घटनाको संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि केही मानिसलाई नियन्त्रणलाई लिएर सोधपुछ भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए। यद्यपि, कसलाई नियन्त्रणमा लिएको हो भन्ने प्रहरीले सार्वजनिक गरेको छैन। ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले श्रोतले जनाएको छ।
कृष्ण माविमा एकजना शिक्षकले आयोजना गरेको स्वागत भोजमा सहभागी भएका शिक्षक विष्ट भोलिपल्ट छात्रवास पछाडी मृत फेला परेका थिए।
शिक्षक विष्टको हत्या भएको भन्दै सोमबारदेखि जिल्लामा आन्दोलन चर्किएको छ। मंगलबार पनि विद्यार्थी र मृतकका आफन्तहरुले जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गर्दै दशरथचन्द राजमार्ग अवरुद्ध गरेका थिए। मृतकका आफन्त तथा विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका छन्। उनीहरुले दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरे।
उनले ३० वर्षदेखि कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए। विष्टका २ छोरा १ छोरी छन्।
संघर्ष समिति गठन
घटनाको सत्यतथ्य छानबिनको माग गर्दै संघर्ष समिति गठन गरिएको छ। पाटनमा पीडित परिवार, शिक्षक, विद्यार्थी लगायतको मंगबालर बसेको भेलाले लिला विष्टको संयोजकत्वमा ४१ सदस्यीय संघर्ष समिति गठन गरेको हो। समितिको सहसंयोजकमा सिलंगा माविका प्रधानाध्यापक लक्ष्मण बोहरा रहेका छन्।
यस्तै, शान्तिपूर्ण धर्ना दिने कार्यक्रमलाई जारी राख्ने निर्णय पनि गरिएको छ। पाटन नगरक्षेत्र भित्रका विद्यालय भोलि (बुधबार) पनि बन्द रहने निर्णय गरिएको छ। पाटन नगरपालिकामा ज्ञापनपत्र बुझाएर तालाबन्दी गर्ने र बुधबारदेखि अर्को निर्णय नभएसम्मका लागि यातायात बन्द गर्ने संघर्ष समितिले जनाएको छ।
यस्तै, घटनाको विरोधमा पाटन नगरपालिका क्षेत्र भित्रका सबै बजार बन्द गर्ने निर्णय समेत भएको संघर्ष समिति सहसंयोजक बोहराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।