बनेपा– सल्ले गाउँ शोकमग्न छ। बनेपा बजारबाट बाइकमा एक घण्टाको दुरी छिचोलेर हामी शुक्रबार दिउँसो उक्त गाउँ पुगेका थियौं।
कच्ची सडक र खाल्डाखुल्डी बाटोहरू पार गर्दै जाँदा सहरको छेउमै रहेको गाउँले भोगेका असुविधा अनुभूत गर्न सकन्थ्यो। ‘यो ठाउँका मानिस गरिब छन्। छाक टार्न त धौ–धौ स्थितिमा घाइतेहरू बाँचुन्जेल उपचार कसरी गर्न सक्छन्? कमाउने मान्छे नै बितेपछि परिवारको हाल के होला?’ बेथानचोकमा भएको बस दुर्घटनामा गुमेका र घाइतेहरू सम्झँदै बनेपा वडा नम्बर ११का वडाध्यक्ष शिव कुमार थापा भावुक सुनिए।
गत २७ मंसिरमा काभ्रेको बेथानचोकमा ब्रतबन्धबाट फर्कँदै गरेको बस चलालगणेस्थानमा दुर्घटनामा पर्यो। १७ जनाले ज्यान गुमाए। बाँकी घाइतेहरू उपचाररत् छन्। मृत्यु भएका मध्ये अधिकांश सल्ले गाउँकै छन्। एकै परिवारका ८ जना पनि यही गाउँका। घाइतेहरू पनि बढीजसो यही गाउँका। ‘अब गाउँ सुनसान भयो, विकासमा लाग्ने हात टुटे। केही गर्छु भन्नेहरू पनि रहेनन्,’ वडाध्यक्ष थापाले भने।
उनले भनेजस्तै गाउँ मौन थियो। प्रत्येक घरका ढोकाहरू बन्द थिए। सधैं भरिने बाटाहरू रित्ता थिए। ‘कति दिन भयो मलाई माथि पसल जान मन लागेको छैन, दुध लिएर डेरी जान मन छैन,’ सल्ले गाउँ उक्लनेबेला ६० वर्षकी फूलमाया मगरले भनिन्, ‘त्यो रित्तो ठाउँ कसरी पो जानु!’

फूलमायालाई सधैं ओरालो झर्दा बोलाउने आवाजहरू अब कहिल्यै सुन्न नपाउने पिरले सताइरहेको छ। त्यही कुरा सम्झिरहँदा काम गर्ने जाँगर पनि हराउँछ उनको।
आँगनबाट माथि घरहरू हेर्छिन्, घरमात्र उभिएको देख्छिन्। डिलमा देखिरहने परिचित अनुहार पाउँदिनन्।
अनि खुइया् काढ्छिन्।
उकालो लागेपछि सल्ले गाउँको माझमा डेरी र पसल आउँछ। अरुबेला त्यहाँ मानिसहरू झुम्मिरहेका हुन्थे। अहिले त न बिहान कोही आउँछन् न साँझ। त्यसरी आउनेहरूमध्ये कोहीले ज्यान गुमाए, कोही घाइते भएर उपचारमा छन् र बाँकी घाइतेहरूको कुरुवा बस्न बनेपा, धुलिखेल, भक्तपुर र काठमाडौंका अस्पतालमा बाँडिएका छन्।
वरिपरी गाउँमा कोही बाँकी छन् भने वृद्धवृद्धा, बालबालिका र बच्चा हुर्काइरहेका महिलाहरू छन्।
करिब ७५ वर्षीय मंगलबहादुर स्याङ्तानका छोराहरू अहिले अस्पताल धाइरहेका छन्। बाँचेकाहरूलाई स्वस्थ बनाएर फर्काउन भनी उनीहरू हिँडेका छन्।
दुर्घटनामा मंगलबहादुरको बहिनीका परिवार परे। आफ्नाहरूको निधनले उनको निद हराएको छ। उनलाई लागिरहेको छ, ‘अब यो गाउँमा न दिन रमाइलो बित्छ, न चाड। आफ्नाहरू विनाको पनि रमझम आउला र!’
मंगलबहादुरकी श्रीमती च्याल्टीमा भएको ब्रतबन्धमा जान चाहेकी थिइन्। तर उनले जान दिएनन्। ‘पैसा जानेहरूसंग नै पठाइदेऊ भनेँ। रिसाएर बसेकी थिई। गएकी भए फर्किएर आउन पाउँदी रैछ त!’ मंगलबहादुर मलिन हुँदै भन्छन्।

पसल भएको घरको आँगनमा २/३ जना वृद्धवृद्धा थिए। उनीहरू घटनाबारे कुरा उप्काइरहेका थिए। ‘लाश बुझ्न आएका छोराहरू पनि बेहोस् भए रे है,’ ७० वर्षीया पुतली स्याङ्तान सुनाउँदै थिइन्।
एउटै परिवारका ८ जनाको मृत्यु भएपछि लाश बुझ्ने मान्छेधरि थिएनन्। दुई सदस्य जयराम तामाङ मलेसिया र अमर तामाङ जापानबाट फर्किएका थिए। उनीहरूले शुक्रबार नै ८ जनालाई दागबत्ती दिइसकेका छन्।
एउटै परिवारका ७९ वर्षीय निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीय हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीय मञ्जु तामाङ, २७ वर्षीय कोपिला तामाङ र १० वर्षीय पुष्कर तामाङले दुर्घटनामा ज्यान गुमाएका थिए।
बाँकी घाइते उपचाररत् छन्।
नयाँ खबर के आउँछ भन्ने प्रतीक्षामा बसिरहेकी थिइन् पुतली। अब सबै निको भएको समाचार आओस् भन्ने प्रार्थना उनको थियो। कतिपयको अवस्था सामान्य भएको सुन्न पाउँदा भने मन केही शान्त हुन्छ उनको।
दुर्घटनामा परेको घरतर्फ पुतली आँखा उठाएर हेर्छिन्। अनि भन्छिन्, ‘धन्न। यो टोलमा त्यो दिन बिहे नपरेको भए अझ कति जना मर्ने थिए।’

उनका अनुसार त्यो दिन गाउँमा बिहे थियो। बिहेले गर्दा निम्तो आएका थुप्रै मान्छे जान पाएनन्। नत्र आफ्नै परिवारभित्रका सदस्य पनि पर्ने थिए पुतलीका।
उनका बुहारीहरू पनि यतिबेला अस्पताल छन्। ‘सक्ने र बल भएकाहरू कोही छैनन् गाउँमा। सबै उतै गएका छन्,’ उनी भन्छिन्।
ब्रतबन्धमा जाँदा हात हल्लाएर बाइबाइ गरेकाहरू अब कहिल्यै नफर्किने कुराले मुर्छित बनाएको छ सोनी तामाङलाई। सोनी र उनकी जेठानी आँगनमा दुर्घटनाकै कुरा गरिरहेका थिए।
जेठानी फोनबाट घाइतेहरूको स्वास्थ्यबारे जानकारी लिँदै थिइन्।
सोनी पनि ब्रतबन्धमा जाने तरखरमा थिइन् अघिल्लो दिनसम्म। तर जानेदिन उनको मुड बदलियो। ब्रतबन्धमा बरु जानेहरूलाई पैसा पठाइदिइन्।
दुर्घटनाको खबर सुनेको क्षण उनीहरूको कालो दिन थियो। घाइते हिरामान तामाङकी श्रीमतीले उनकै घरमा आएर श्रीमान्लाई तीन पटकसम्म कल गरेकी थिइन्। चार पटकको पालोमा प्रहरीले फोन उठाएर भनेका थिए, ‘तपाईंको श्रीमान् बेहोस् हुनुहुन्छ। हस्पिटलमा आउनुहोस्।'

साना बच्चाहरू छाडेर उनी रुँदै अस्पताल दौडिएकी थिइन्। ‘उनी त बाँचे। टाउकोमा पानी जमेर अप्रेसन गर्नुपर्छ भनेका थिए डाक्टरले। अहिले खतरामुक्त छन् रे,’ सोनी भन्छिन्।
हिरामानका दुई सन्तान सोनीकै रेखदेखमा छन्। ‘छोरी ममी बाबा जानी भन्छिन, हामीले आज पनि बल्ल फकाएर स्कुल पठायौं,’ उनी भन्छिन्।
सोनीकै परिवारका सदस्य पनि यतिबेला घाइते कुर्न अस्पताल गएका छन्।
घटना भएको दिन त्यो गाउँको अधिकांश घरमा चुलो बलेन। कति घरमा त अहिले पनि बलेको छैन। ‘अब सबै घाइतेहरूको राम्रो भइदिए हुन्थ्यो,’ सोनीको प्रार्थना छ।

वडाध्यक्ष थापा मृतकको परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिलाउन लागिपरिरहेका छन्। उपचारका बारेमा जानकारी लिइरहेका छन्। गाउँमा यो संकटकाे घडीमा उनले राहतको आग्रह गरेका छन्। ‘यहाँको परिवार र गाउँलाई राहतको आवश्यक छ। सक्नेहरूले सहयोग गरिदिनुहुन मेरो आग्रह छ,’ थापाले भने।
यो पनि:
१७ जनाको ज्यान गएको बस दुर्घटनामा बाँचेका सहचालक: पुनर्जीवन मिल्यो, तर उपचारको चिन्ता
बेथानचोक बस दुर्घटना : न आफ्ना रहे, न आफन्त!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।