गत २७ मङ्सिरमापनौती आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको यात्रुबाहक बस काभ्रेको बेथानचोक गाउँपालिकास्थित चलाल गणेशस्थानमा दुर्घटना भयो। दुर्घटनामा चालकसहित १७ जनाको मृत्यु भयो। बाँकी २२ जना घाइतेको बनेपा, धुलिखेल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सहचालक सन्तोष चौलागाईं उक्त दुर्घटनामा बाँचे। बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ। दुर्घटनाको भोगाइबारे उनले नेपाल लाइभकर्मी समर्पण श्री र सुरेन्द्र बजगाईंसँग सुनाएको अनुभूति:
पहिले म क्यान्टिनमा काम गर्थेँ। सोचेअनुसारको कमाइ भइरहेको थिएन। म विकल्प खोज्दै थिएँ। त्यही क्रममा मेरो मामाको छोराले गाडीमा काम गर्न प्रस्ताव गरे। कमाइ ठिकै हुने भनेपछि म उनले चलाउने गाडीमा काम गर्न सहमत भएँ।
एक हप्तादेखि मात्रै मैले गाडीमा काम सुरु गरेको हुँ। पहिले कहिलेकाहिँ यो काम गरेकाले सहज नै भएको थियो। गाडी पनौती–काठमाडौं रुटमा चल्ने गरेको थियो।
हाम्रो गाडी छेवार (ब्रतबन्ध) का लागि रिजर्भ भएको थिएन। अर्को गाडीमा रिजर्भ आएको थियो। त्यो गाडी बिग्रिएकाले हामीलाई रिजर्भको लागि भनियो।
हामी ८ बजेतिर पनौतीबाट हिँड्यौं। यताबाट जाने बेलामा राम्रोसङ्ग च्याल्टी पुगियो। एक ठाउँमा भने बाटोको कारण गाडी एकातिर ढल्किएकाले मलाई डर लागेको थियो। अरू ठाउँमा भने सहजै पुगेका थियौं।
ब्रतबन्धमा मैले र चालक सन्तोष तिमल्सिनाले सँगै खाना खायौँ। खाना सँग हामीलाई कोल्ड ड्रिङ्स दिइयो। अरू पाहुनाले रक्सी खाए पनि हामीले सेवन गरेनौं।
ब्रतबन्ध सकिएर ६ बजे हामी फर्किएका थियौँ। त्यहाँबाट फर्किने मानिसहरूलाई चालकले धेरै हल्ला नगर्नुस्, सिटमा बसिदिनु भनेका थिए। यात्रुहरूले त्यहाँबाट हिँडेदेखि नै गीत बजाइदिन भनेका थिए।
सुरुमा बाटो अप्ठेरो छ भनेर केही समय गीत बजाइएन। बाटो अलि राम्रो आए पछि गीत बजाइयो। गाडीमा भएका सबै मान्छे रमाइलो गर्दै, गाडी भित्र नै नाच्दै फर्कँदै थियौँ।
गीत बजाएर नाचे पनि हामीलाई कुनै डिस्टर्ब भएको थिएन। म केही समय चालकको नजिकै बसेको थिएँ। पछि त्यहाँबाट उठेर ढोकामा गएर उभिएँ।
बीचमा एक ठाउँमा गाडीले नतानेजस्तो भयो। त्यहाँचाहिँ चालकले अलि जोडले एक्सिलेटर दबाएका थिए। उकालो भएकाले गाडी थोरै हुत्तिएर अगाडि गएको थियो। त्यतिबेला १ जनाले विस्तारै चलाउनु, हतार छैन भनेका थिए। गाडी बिस्तारै गुडेको थियो। त्योबाहेक चालक र पेसेन्जरसँग खासै दोहोरो कुरा भए जस्तो लाग्दैन। पछाडि मानिसहरू नाचिरहेका थिए।
एक ठाउँमा आइपुग्दा मलाई गाडीको बडीले भूइँ छोएको जस्तो लाग्यो। के भएछ जस्तो लागेको थियो। अब गाडी दुर्घटना हुन्छ भन्ने कुरा तत्काल मेरो मनमा आएछ। एक मनले अब बाचिँदैन कि भन्ने कुरासम्मको सोच आयो। त्यस्तो अवस्थामा ढोकाबाट फाल हाल्ने कुरासम्म आएन। म भित्रको भित्र नै भए। केही पेसेन्जरले हावा लिन झ्याल खोलेका थिए होलान्। तर ढोका भने बन्द गरेको थियो।
हामी काठमाडौं-पनौतीको रुटमा चल्ने भएकाले त्यो बाटो खासै हिँड्ने गरेको थिएन। कहिलेकाहिँ टिप आउँदा मात्रै हामी त्यताको बाटो हिँड्ने गरेका थियौँ। हाम्रो पुर्खौली घर त्यही बाटो हुँदै जाने भएकाले हामीलाई त्यो बाटो नयाँ भने थिएन।
गाडी एक्कासी दुर्घटना भयो। त्यसपछि मेरो केही होस नै छैन। म बेहोस भएको १० मिनेटपछि मलाई अर्को गाडीमा राखेर अस्पताल ल्याइएको रे। मलाई गाडीमा हाल्नेहरूका अनुसार गाडी पल्टिएपछि म आफैंले हस्पिटल लैजाऊ, हस्पिटल लैजाऊ भनेर कराएको थिएं रे।
उनीहरूले मलाई गाडी भित्रबाट सिसा फुटाएर निकालेका रहेछन्। पनौती ढुङ्खर्क रुटमा चल्ने गाडी नजिकै भएकाले हामीलाई उद्धार गर्न सजिलो भएको थियो। उद्धार गर्नको लागि तत्काल त्यो अर्को गाडीका मानिस आएको र त्यही गाडीमा बिरामीहरूलाई अस्पताल पुराएकाले अझ ठूलो क्षति हुनबाट हामी बचियो जस्तो मलाई लागेको छ।
दुर्घटना भएको गाडीबाट निकालेर बाहिर ल्याएपछि म होसमा आएको थिएँ। त्यतिबेला एम्बुलेन्स, प्रहरीहरू समेत आइसकेका थिए। यति जनाको लास निकालियो भनेर मानिसहरू रुँदै थिए। म होसमा आएपछि उठ्न खोजेको थिएँ।
त्यो बेला सबैभन्दा धेरै कम्मर र ढाड दुखेको थियो। टाउको पनि एकदमसँग दुखेको थियो। टाउकोमा चोट लागेको रहेछ । अहिले ४/५ टाँका लगाएको छ।
टाउकोमा भएको त्यही चोटबाट कान, घाँटी हुँदै शरीरभरी रगत नै रगत भएको थियो। म त्यहाँबाट अस्पताल लैजाँदासम्म पनि होसमा नै थिए। गाडी दुर्घटना भएको भन्दै बाटोबाटै साथीहरूलाई फोनसम्म गरेका थिएँ। 'मेरो गाडी दुर्घटना भयो, बनेपा आउँदै छु' भनेर फोन गरेको थिएँ।
मलाई शीर मेमोरियल अस्पतालमा ल्याइयो। त्यो दिन बेलुका नै मेरो सबै चेकअप गरियो। त्यस दिनदेखि अस्पतालमा नै छु।
०००
चालक मेरो आफन्त नै हुन्। उनले पहिले सानो गाडी चलाउने गरेका थिए। पछि हेवी गाडीको लाइसेन्स निकालेर बस चलाउन सुरु गरेका हुन्। उनले बस चलाउन लागेको १ वर्षभन्दा बढी भयो होला।
उनी मेरो मामाको छोरा भएकाले हाम्रो सम्बन्ध राम्रो थियो। कुखुरा बोक्ने बोलेरो गाडी चलाउँदादेखि अहिलेसम्म कुनै दुर्घटना भएको सुनाएका थिएनन्।
केही मान्छेहरूले सामाजिक सञ्जालमा गाडीको टायर पुरानो भएकाले दुर्घटना भएको भन्दै लेखेका रहेछन्। टायर पुरानो भएर रिसोलिङ गर्ने बेला भएको थियो। तर ब्रेक नै नलाग्ने सम्मको पुरानो भने भएको थिएन।
धेरै मानिसले गाडी तीव्र गतिमा भएकाले दुर्घटना भएको आरोप लगाएका छन्। तर मेरो विचारमा गाडी तीव्र गतिमा थिएन। गाडी तीव्र गतिमा भएको भए त मोडबाट नै सिधा भिरमा झर्ने थियो। घुम्ती क्रस भएर दुर्घटना भएकाले त्यो तीव्र गतिमा भएकाले भएको हैन भन्ने मेरो बुझाइ छ।
मेरो विचारमा ब्रेक फेल भएकाले त्यो दुर्घटना निम्तिएको हो।
गाडीका चालक मेरो मामाका छोरा। दाइभाइको रुपमा हामी पहिलेदेखि नै नजिक थियौं। तर मैले बसमा काम गर्न थालेको भने १ हप्ता मात्रै भएको थियो। उनी दुर्घटनास्थलमै बितेछन्। त्यो कुरा म अस्पताल आइपुगेपछि मात्रै थाहा पाएँ। सँगै यात्रा गरेको १७ जना साथीहरू बिते। मलाई अहिले बांच्नु भनेको अर्को जुनी पाएको जस्तो भएको छ। अरू दु:ख, कष्ट भएको त छ नै, तर त्यो दुर्घटनामा ज्यान बच्नु नै ठूलो कुरा हो।
दुर्घटनामा परेपछि धेरै मानिस हामीलाई भेट्न आएका छन्। यहाँका सांसददेखि वडाका मानिससम्म हामीलाई भेट्न आएका छन्। यहाँ आउने सबैले हाम्रो बारेमा चिन्ता जनाएका छन्। तर गाडीका साहु भने आएका छैनन्। त्यसैले उपचारमा लागेको सबै खर्च अस्पतालसँग उधारोमा गरिरहेका छौँ। मैले सुनेअनुसार गाडी साहुले आफ्नो उपचार आफैंले गर्नु पर्छ भनेका छन् रे। त्यस्तो भयो भने त हामीले कहाँबाट खर्च जुटाउने हामीलाई त धेरै समस्या पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।