काठमाडौं– प्यालेस्टिनी विद्रोही संगठन हमास आफूसँग रहेका सबै इजरायली बन्धकहरुको रिहाइका लागि तयार भएको छ । तर गाजामा शान्तिका लागि बनाइएको अमेरिकी योजनाका कयौं मुख्य बिन्दुहरुमा चर्चा गर्न आफू तयार रहेको पनि बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट हमासका लागि डेटलाइन दिएको केही समयपछि नै हमासले आफू सहमतिका लागि तयार रहेको बताएको हो । सबै बन्धकहरु रिहा गर्ने हमासको घोषणापछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हमासका तर्फबाट जारी वक्तव्यका आधारमा अब उनीहरु स्थायी शान्तिका लागि तयार छन् भन्ने विश्वास छ ।’
साथै उनले अब इजरायलले गाजामा बमबारी तत्काल रोक्नुपर्ने बताएका छन् । बन्धकहरुलाई सुरक्षित र छिट्टै बाहिर ल्याउनका लागि आक्रमण रोक्नुपर्ने ट्रम्पको भनाइ छ । केही दिनअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिका भ्रमणमा थिए । जहाँ दुवै नेताहरुबीच अमेरिकी शान्ति योजनामा सहमति भएको थियो ।
नेतान्याहुले बन्धकको रिहाइ गर्ने हमासको सहमतिपछि आफूहरु शान्तिका लागि ट्रम्पको योजनामा अमेरिकासँग मिलेर काम गर्ने बताएका छन् । नेतान्याहुको कार्यालयका तर्फबाट आएको वक्तव्यमा भनिएको छ, ‘हमासको प्रतिक्रियापछि इजरायल सबै बन्धकहरुलाई तत्काल रिहा गर्न ट्रम्पको योजनाअन्तर्गत पहिलो चरण लागू गर्न तयारी गरिरहेको छ ।’
हमासले बन्धकहरु रिहा गर्ने सहमति जनाए पनि गाजामा शान्तिका लागि बनाइएको अमेरिकी योजनाका मुख्य बिन्दुहरुमा गहन छलफल हुनुपर्ने धारणा राखेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।