काठमाडौं– नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माको आक्रामक पारीमा नेपाली टोलीले मंगलबार मलेसियालाई चौथो खेलमा फराकिलो अन्तरले पराजित गरेको छ ।
११२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीले १७ दशमलव ३ ओभरमै मात्र ४ विकेट गुमाएर ११५ रन बनायो र ६ विकेटको जित हात पार्यो ।
यो जितसँगै सिरिज अब दुई–दुईको बराबरीमा पुगेको छ । पाँच खेलको सिरिजको उपाधि भिडन्त भने रोचक र प्रतिस्पर्धात्मक हुने देखिन्छ ।
पहिला ब्याटिङ गरेको मलेसियाले क्वालालम्पुरमा निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ११ रन बनाएको थियो । इन्दु ३९ बलमा ४८ र रुविना २३ बलमा २३ रन बनाई अविजित रहे । कविता कुँवरले २६ बलमा १६ रन बनाएकी थिइन् । रुवि पोदार ५, सम्झना खड्का ११ र पुजा महतो ७ रनमा आउट भएकी थिइन् ।
मलेसियाबाट मास इलिसाले ६३ बलमा अविजित ५६ रन बनाएकी थिइन् । त्यस्तै माहिराहले २१ बलमा १८ र नुर डानियाले १५ बलमा १५ रन बनाइन् । नेपालकी कविता कुँवरले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । पुजा र कविता जोशीले १–१ विकेट लिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।