काठमाडौं– नारायणगढ–मुग्लिन सडक १ महिनासम्म दैनिक ४ घण्टा बन्द हुने भएको छ। सडकस्तरोन्नतिका कारण पुस ५ गतेदेखि एक महिनासम्म दैनिक ४ घण्टा बन्द हुने भएको हो।
दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द हुने चितवन ट्राफिक प्रहरीले जनाएको छ। उक्त सडकखण्डको सिमलताल पुल, कालिखोला पुल, तुईन पुल र चिसेन्जी खोला पुन: निर्माण गर्नुपर्ने भएकाले बन्द गरिएको जनाएको गराइएको छ।
११ बजेदेखि ३ बजेसम्म ४ घण्टा सम्पूर्ण सवारी रोकेर निर्माण गर्नुपर्ने भएकाले दुबैतर्फ बाटो बन्द हुने बताइएको छ।
कुन गाडी कतिबेला र कहाँ रोकिने?
ट्राफिक प्रहरीका अनुसार नारायणघाटबाट छिर्ने यात्रुवाहक सवारी साधनहरु बस, मिनिबस, माइक्रोबस तथा साना सवारी साधन बिहान ११ बजेदेखि रोकिनेछन्। जसको लागि पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म राकिने बताइएको छ।
यस्तै मुग्लिनतर्फबाट छिर्ने यात्रुवाहक सवारी साधन बिहान १०:५५ बजेदेखि रोकिनेछन्। जसमा काठमाडौं तर्फबाट आउने सवारी साधनलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने सवारीलाई बेनीटारदेखि पावरहाउसम्म रोकिनेछ।
यस्तै नारायणघाट तर्फबाट छिर्ने मालबाहक सवारीहरु ट्रक, लरी, ट्रेलर, टिपर, ट्यांकर र भारी सवारी साधन बिहान १०:५० बजेदेखि रोकिनेछ। यी सवारी भतेरी जंगलदेखि रामनगरसम्म रोकिने बताइएको छ।
यता काठमाडौं तथा पोखरातर्फबाट आउने मालबाहक सवारी साधनलाई बिहान १०:४५ बजेदेखि रोकिनेछ। यी सवारी साधनमध्ये काठमाडौं तर्फबाट छिर्नेलाई लेवाटारमा र पोखरातर्फबाट छिर्नेलाई आँबुखैरेनीमा रोकिनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।