काठमाडौं– वातावरण विभागले परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई जरिवाना तिराउने चेतावनी दिएको छ।
विभागले बिहीबार एक सूचना जारी गर्दै पुस १ गतेपछि जाँच हुने र त्यसमा पास नभएका सवारी साधनलाई वातावरण संरक्षण ऐन अनुसार कारबाही र जरिवाना गर्ने बताएको छ।
उक्त ऐनको दफा ४१ को उपदफा २ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना हुने विभागले चेतावनी दिएको छ। सवारी साधनबाट निस्केको धुँवाले वातावरण प्रदूषण गराएको भन्दै विभागले उक्त सूचना जारी गरेको हो।
हिउँदमा काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रेको विभागले बताएको छ। वायु प्रदूषणको मुख्य कारक सवारी साधनबाट निस्केको धुवाँ रहेको विभागको दाबी छ। साथै खुला रूपमा फोहोर जलाउँदा पनि धुवाँ निस्केको र त्यसले प्रदूषण बढाएको विभागले बताएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।