काठमाडौं– शुक्रबार मध्यराति विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’का खेलहरू हुँदैछन्। राति १२ः४५ बजे समूह ‘जी’का क्यामरुन भर्सेस ब्राजिल र सर्बिया भर्सेस स्विट्जरल्याण्डबीच हुनेछ।
सर्बिया र स्विट्जरल्याण्डबीचको खेललाई लिएर धेरै फुटबल पण्डितहरू उत्सुक देखिन्छन्। किनकि, चार वर्षअघि यी दुईबीचको खेल तनावपूर्ण भएको थियो। स्विट्जरल्याण्डका केही खेलाडीले गोलको खुसी मनाउने क्रममा राजनीतिक रङ देखाएका थिए।
अन्तिम समयमा गोल गर्दै स्विट्जरल्याण्डले सर्बियालाई समूह चरणमै सीमित गराएको थियो। अलेक्जान्डर मिट्रोभिचले खेलको पाँचौ मिनेटमै गोल गरेर सर्बियालाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा स्विट्जरल्याण्ड खेलमा फर्कियो। ग्रानित खाकाले ५२ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि ९० औँ मिनेटमा छेर्दन शाकिरीले गोल गर्दै स्विट्जरल्याण्डको गोल सुनिश्चित गराए।
त्यसै गोलको खुसी मनाउने क्रममा शाकिरी र शाकाले राजनीतिक रङ घुसाए। शाकिरी र शाका दुवै सर्बियाकै विवादित भूमि कोसोभो मूलका हुन्। अझ भनै अल्बानियन मूलका। उनीहरूका अभिभावक राजनीतिक कारणले नै स्विट्जरल्याण्ड गएका थिए। यसर्थ, शाका र शाकिरी दुवैले सर्बियाप्रति इख लिएका थिए। यसैको कारण सर्बियाविरुद्ध गोल गर्दा उनीहरूले अल्बानियन बाज शैली अपनाउँदै राजनीतिक रङ दिएका थिए।
यसलाई लिएर सर्बियाका कप्तान अलेक्जान्डर कोलोरोभले प्रतिक्रिया जनाउँदै शाका र शाकिरीको राष्ट्रियतामाथि नै प्रश्न उठाएका थिए। उनीहरू अल्बानियन हुन् कि स्विस भन्दै प्रश्न गरेका थिए।
यो घटना सेलाएको छैन। आज राति सर्बिया र स्विट्जरल्याण्ड आमने–सामने हुँदा बरु बल्झिने सम्भावना छ।
यो समूहमा यसअघिका दुई खेल जित्दै ६ अंक जोडेर ब्राजिल नकआउट चरणमा प्रवेश गरिसकेको छ।
क्यामरुनको भने १ अंक छ। अर्को चरण प्रवेश गर्नका लागि क्यामरुनलाई जित्नै पर्ने हुन्छ। जितले मात्रै पनि क्यामरुनको अर्को चरण प्रवेश सम्भव नभएर स्विट्जरल्याण्ड र सर्बियाबीचको खेलको नतिजा समेत कुर्नुपर्ने हुन्छ।
स्विट्जरल्याण्ड ३ अंकसहित दोस्रो स्थानमा छ भने सर्बिया १ अंकसहित पुछारमा छ।
अर्को चरणमा जान सर्बियालाई जित्नै पर्ने र ब्राजिल र क्यामरुनबीचको नतिजामा भर पर्नुपर्ने हुन्छ। बराबरी खेलेको अवस्थामा समेत अर्को चरण जाने सम्भावना कायम राखेको स्विट्जरल्याण्डले बराबरी खेलेको अवस्थामा यही समूहका क्यामरुन र ब्राजिलको नतिजा कुर्नुपर्छ।
यसर्थ, आज सर्बिया स्विट्जरल्याण्डलाई तीन कारणले जित्न चाहन्छ। पहिलो– जित नकालेको नकआउट पुग्न गाह्रो हुने अवस्था छ। दोस्रो– २०१८ को पराजयको बदला लिनु छ। तेस्रो– फुटबलमा राजनीतिक रङ दिने स्विट्जरल्याण्डका खेलाडीहरूलाई सबग सिकाउनु छ। यसर्थ, आज राति यी दुई टोली उत्रँदा फुटबलसँगै राजनीतिक रङ पनि देखिने जोखिम बढेर गएको विश्लेषण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।