काठमाडौं– विश्वकप फुटबलअन्तर्गत शुक्रबार साँझ बदलाको खेल हुँदैछ। समूह ‘एफ’को खेलमा उरुग्वे र घाना आमने–सामने हुँदैछन्। लुइस स्वारेजसहितको उरुग्वेसँग आज घाना बदला लिन चाहन्छ।
सन् २०१० दक्षिण अफ्रिाकामा भएको विश्वकपको क्वार्टरफाइनल उरुग्वे र घानाबीच भिडन्त भएको थियो। निर्धारित समयमा १–१ को बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय थपियो। थप गरिएको ३० मिनेटको अन्तिम समयमा घानाका एक खेलाडीले उरुग्वेका गोलकिपरलाई बिट गर्दै गोल गर्नेगरी हेडिङ हानेका थिए। गाललाइनमा बसेका स्ट्राइकर स्वारेजले त्यसलाई हातले रोकेर बचाए। स्वारेजले हातले नरोको भए त्यो शतप्रतिशत गोल हुने निश्चित थियो। र, विश्वकपको घाना सेमिफाइनलमा पुग्ने पहिलो देश हुने थियो। हातले गोल रोकेपछि स्वारेजले रातो कार्ड पाए। घानाले पेनाल्टी पायो, आसमोह जिहानले हानेको पेनाल्डी माथिल्लो बारमा लागेर आउट भयो। त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो। सुटआउटमा उरुग्वेले बाजी मार्यो र सेमिफाइनलमा पुग्यो। यता, घाना भने पहिलोपटक सेमिफाइनलमा पुग्ने अफ्रिकी देश हुनबाट बञ्चित भयो।
त्यसपछि स्वारेज आफ्नो देशको लागि हिरो भए भने घानासँगै पूरै अफ्रिकाका लागि भिलेन।
आठ वर्षपछि आज घानाले उरुग्वेसँग त्यो घटनाको बदला अवसर पाएको छ। साँझ ८ः४५ बजे उरुग्वे र घानाबीच हुँदैछ। उरुग्वे १ अंक जोडेर पुछारमा छ भने घानाको ३ अंक छ। उरुग्वेलाई बदला लिँदै जितेको अवस्थामा यसअघि नै ३ अंक जोडिसकेको घाना नकआउट चरणमा पुग्नेछ। अर्को चरणमा जानका लागि उरुग्वेलाई पनि जिन्नै पर्नेछ। तर, पोर्चुगल र दक्षिण कोरियाबीचको खेलको नतिजासमेत कुर्नपर्ने हुन्छ।
यता, घाना भने बराबरी गरेको अवस्थामा समेत अर्को चरण जानसक्ने सम्भावना रहन्छ। त्यसका लागि यही समूहको पोर्चुगल र दक्षिण कोरियाको खेलमा कोरिया हार्नु वा बराबरीमा रोकिनु पर्ने हुन्छ।
दुई खेलबाट १ अंक जोडेको दक्षिण कोरियालाई अर्को चरणमा जानका लागि आजको खेल जित्नैपर्ने हुन्छ। आफ्नो जितले मात्रै कोरियालाई अर्को चरणमा जाने बाटो खुल्दैन। यही समूहका उरुग्वे र घानाबीचको खेलको नतिजामा समेत भर पर्नुपर्ने हुन्छ। पोर्चुगल भने यसअघिका दुई खेल जित्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ।
जे भएता पनि घाना र उरुग्वेबीच हुने आजको खेल रोमाञ्चक र बदलाको भावनाको हुने अनुमान गरिएको छ। खेलअघिको पत्रकार सम्मेलनमा स्वारेजलाई घानाको गोल हातले रोकेकोमा माफी माग्न भनिएको थियो। तर, उनले अस्वीकार गर्दै भनेका थिए, ‘मैले हातले रोकेबापत घानाले पेनाल्टी पायो। मैले रातो कार्ड पाएँ। तर, घानाकै खेलाडीले यस्को सदुपयोग गर्न सकेनन्। उनले पेनाल्टीमा गोल गर्न सकेनन्। यो मेरो ट्युटी थिएन।’
आजकै अर्को खेल राति १२ः४५ बजे समूह ‘जी’का क्यामरुन भर्सेस ब्राजिल र सर्बिया भर्सेस स्विट्जरल्याण्डबीच हुनेछ। यसअघिका दुई खेल जित्दै ६ अंक जोडेर ब्राजिल नकआउट चरणमा प्रवेश गरिसकेको छ।
क्यामरुनको भने १ अंक छ। अर्को चरण प्रवेश गर्नका लागि क्यामरुनलाई जित्नै पर्ने हुन्छ। जितले मात्रै पनि क्यामरुनको अर्को चरण प्रवेश सम्भव नभएर स्विट्जरल्याण्ड र सर्बियाबीचको खेलको नतिजा समेत कुर्नुपर्ने हुन्छ।
यही समूहको अर्को खेलमा सर्बिया र स्विट्जरल्याण्डले प्रतिस्पर्धा गर्नेछन्। स्विट्जरल्याण्ड ३ अंकसहित दोस्रो स्थानमा छ भने सर्बिया १ अंकसहित पुछारमा छ।
अर्को चरणमा जान सर्बियालाई जित्नै पर्ने र ब्राजिल र क्यामरुनबीचको नतिजामा भर पर्नुपर्ने हुन्छ। बराबरी खेलेको अवस्थामा समेत अर्को चरण जाने सम्भावना कायम राखेको स्विट्जरल्याण्डले बराबरी खेलेको अवस्थामा यही समूहका क्यामरुन र ब्राजिलको नतिजा कुर्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।