काठमाडौं– अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको समन्वयमा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि काठमाडौंको थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती आन्दोलित छ।
वर्षौंदेखि बस्दै आएका आफूहरुलाई विना विकल्प विस्थापित गर्न खोजेको भन्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले आन्दोलन गरिरहेका छन्। राष्ट्रिय भूमि आयोगले काठमाडौं महानगरपालिकासहित सबै स्थानीय तहलाई तत्काल बस्ती हटाउने प्रक्रिया रोक्न भनेपनि सुकुम्बासीहरु भने आफूहरु विस्थापित हुनुपर्ने चिन्ताका बीच आन्दोलनमा छन्।
केही दिन अगाडि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाले डोजर चलाएर बस्ती हटाउन खोजेको थियो। बस्ती हटाउने क्रममा दुवै पक्षबीच झडप भएपछि बस्ती खाली गराउने अभियानबाट महानगर पछाडि हटेको थियो।
यस्तै, राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ।
लालपुर्जा वितरणसम्बन्धी काम सम्पन्न नभए सम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानबाट सुकुम्बासी हटाउने र उनीहरूलाई असुरक्षित हुने गरी कुनै कार्य नगर्न नगराउन आयोगले आग्रह गरेको छ।
यसअघि नै ३५ दिने सूचना प्रकाशित गरेका स्थानीय तहले सम्झौताअनुसार काम गर्न आयोगले आग्रह गरेको छ। आयोग र स्थानीय तहबीच सहमति पत्रमा हस्ताक्षर भइ भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न लागिएको समेत जनाइएको छ।
सुकुम्बासीको आन्दोलनमा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि ऐक्यबद्धता जनाएको छ। क्रान्तिकारी माओवादीसम्बद्ध जवस र मोर्चाको ऐक्यबद्धता जनाउँदै विना विकल्प सुकुम्बासीलाई खेज्न नपाइने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।