काठमाडौं– सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्ती अस्तव्यस्त बन्यो। काठमाडौं महानगरपालिका र बागमती सभ्यता एकीकृत विकास समितिको टोलीले बस्ती हटाउने प्रयास गरेको थियो। बस्ती हटाउन नदिन सुकुम्बासीले प्रतिकार गरिरहेका थिए। केहीले घरेलु हातहतियार समेत निकालेर प्रतिकार गर्दा महानगर प्रहरी, सुकुम्बासीसमेत घाइते भए। कोही टायर बालेर प्रदर्शन गरिरहेका थिए।
त्यही एक छेउमा ७० वर्षीय वृद्ध लक्ष्मी यादव ह्विलचियरमा थिए। छेउमा बसेका थिए उनका बालक छोरा। ती निकै डराएकाजस्तो देखिन्थे। त्यो बस्तीमा उनको पनि टहरो रहेछ। उनी यस बस्तीमा बसेको १६ वर्ष भएछ। सोमबार एक्कासी महानगर बस्ती भत्काउन आउँदा उनी पनि प्रतिकार गर्न सडकमा निस्किएका रहेछन्।
‘सडकमै जन्मिएँ, सडकमै हुर्केको मेरो जाने ठाउँ अन्त छैन। म कहाँ जानु दुईटै खुट्टा छैनन्। यत्रो परिवार कसरी पाल्ने कहाँ लगेर राख्ने? म अपाङ्ग छु। मागेर परिवार पालेको छु,’ उनले प्रश्न गरे, ‘त्यो बालेन अहिले मेयर भएँ भन्दैमा हामीलाई यसरी हटाउन हुन्छ? हामीले हो तिनलाई मेयर बनाएको। सिधै हटाउन मिल्ला त्यसलाई पाप धर्म छैन? पहिला व्यवस्थित गनुपर्दैन? कहाँ जाने हामी?’
यादव सडकमा मागेर गुजारा चलाउँछन्। उनको ५ जनाको परिवार छ। सानो टहरो हालेर बसेका छन्। छोराछोरी पढाउनसमेत मागेर जुटाएको पैसाले टार्ने गरेको उनको भनाइ छ।
अर्का ७५ वर्षीय वृद्ध रामबहादुर तामाङ पनि आफ्नो बस्ती भत्काउन लागेकाले प्रतिकार गर्न निस्किएका थिए। उनी पनि यहाँ बसेको १५ वर्ष भयो। उनले आफ्ना बुवा पनि देखेनन्। उनी आमासँग सौतेनी बाबुको घरमा बसे। ठूलो भएपछि उनी घरबाट निकालिए। केही वर्ष मामाघरमा बसे। विवाह गरेपछि उनी कामको सिलसिलामा काठमाडौं आएका थिए। त्यो बेला उनका २ छोरा जन्मिएका थिए। जेठो छोराको त विहा गरेको थियो। बुहारी छिन्। नाति छन्। अहिले दुवै छोरा विरामी भएर बिते।
‘मैले काम छाडेको ५ वर्ष भयो। मेरो पनि मिर्गौलाको समस्या भएर अप्रेसन गरेको छ। श्रीमती पनि वृद्वावस्थाकी छिन्। यहाँ बस्न नदिए कहाँ जाने बस्ने ठाउँ छैन। हामीलाई कसैले कोठा दिँदैन। कोठा भाडामा दिएपनि भाडा तिर्न सक्दिन। बुहारी माइतमा छिन्। भत्ता त आउँछ दुवै जनाको तर त्यसले खान पुग्दैन,’ उनले गुनासो गर्दै भने।
त्यस्तै बस्तीभित्र कोही टहराबाट सबै सर–सामान निकालेर बसेका थिए। कोही सामान ननिकाली जाने ठाउँ छैन कहाँ जाने भन्दै टहराभित्रै थिए।
एउटा टहरामा बसेकी थिइन्, अञ्जली पासवान। उनी सुत्केरी भएको २० दिन भएको रहेछ। जाने ठाउँ छैन कहाँ जाने अब भन्दै उनी पनि टोलाएर बसेकी थिइन्। ‘राती आएर भत्काउने भनेको छ। आज यहाँ बास होलाजस्तो छैन। २० दिनको बच्चा लिएर यस्तो चिसोमा कसरी चिसो आकाशमुनि बस्ने? कहाँ जाने? पुलमुनी बस्ने होकि कहाँ जाने?’ उनले प्रश्न गरिन् ।
एक जनाले भने, ‘अब यूएन पार्कमा बास हुन्छ होला कि?, अर्की भन्छिन्– कहाँ देलान् र त्यहाँ पनि?
सोही क्रममा बस्तीम सुकुम्बासी मोर्चाका युवा इन्चार्ज प्रज्वल लिम्बू आइपुगे। उनैले सुकुम्बासी बस्ती संरक्षणका लागि टायर बालेर प्रदर्शन गरेका रहेछन्। सरकारले आफूहरूलाई विदेशीलाई जस्तो व्यवहfर गरेको उनले गुनासो गरे।
‘हामी कुनै विकासविरोधी होइनौं। हामीलाई व्यवस्थित तरिकाले हटाओस्, हामी आफैँ यो बस्ती भत्काउन सहयोग गर्छौ। तर व्यवस्था गर्न कुनै अप्सन नराखी व्यवस्थाको नाममा आतंकित तरिकाले हटाउन आउनुभएन। हामीलाई सरकारले दोस्रो दर्जाको स्थान दिएर विदेशी नागरिक आएकोजस्तो गर्यो। हामी पनि त नेपाली हो!, भारत वा चीनबाट आएर त बसेका होइनौं नि!’, उनले भने।
सोहीबीच मानवअधिकारकर्मी अम्बिका अर्याल पनि त्यहाँ उपस्थित थिइन्। उनी पनि सुकुम्बासी बस्तीकै सदस्य हुन्। उनी महानगर र एकीकृत सभ्यताप्रति आक्रोशित देखिन्थिन्। उनले महानगरले अव्यवस्थित अमर्यादित ढंगले बस्ती भत्काउन खोजेको भन्दै प्रतिकार गर्न आएको बताइन्।
उनले भनिन्, ‘हाम्रो पनि अधिकार छ। हामीले बस्न पाउनुपर्छ। यो ठाउँमा हामीले अतिक्रमण गरेका छैनौँ। हामीलाई व्यवस्थित स्थान देखाओस् त्यहाँ जान तयार छौँ। सिधै आक्रामक तरिकाले भत्काउन आएर मात्र हुन्छ र?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।