यांगुन : एक साताअघि म्यान्मारको रखाइन प्रान्तमा भड्किएको हिंसापछि त्यहाँबाट करिब ४० हजार अल्पसंख्यक रोहिंग्या मुस्लिम बंगलादेशतिर भागेको अनुमान संयुक्त राष्ट्र संघले गरेको छ।
अगस्ट २५ मा रोहिंग्या मुस्लिम लडाकुले प्रान्तका प्रहरी चौकीमा गरेका आक्रमणमा दर्जनौं सर्वसाधारण मारिएको बताइएको छ।
बंगलादेशसँग जोडिएको रखाइनमा प्रहरी- सेना-रोहिंग्या लडाकुबीच भिडन्त सुरु भएपछि अल्पसंख्यक रोहिंग्यासँगै अन्य समुदायसमेत त्यहाँबाट पलायन हुन थालेका हुन्। रखाइनबाट पलायन भएका रोहिंग्या समुदाय सीमास्थित नदी नफ पार गरी बंगलादेश प्रवेश गर्न प्रयास गरिरहेको सञ्चारमाध्यमले जनाएका छन्।
बंगलादेश प्रवेशको प्रयास गर्दा धेरै रोहिंग्याको मृत्यु भएको छ। शुक्रबार मात्र नफमा बगेका १६ रोहिंग्याको शव किनारमा फेला परेको थियो। ती शव फेला परेपछि डुंगा डुबेर मर्ने रोहिंग्याको संख्या ४० पुगेको छ। गत साता रखाइनमा हिंसा सुरु भएपछि ४ सयभन्दा बढी रोहिंग्या मारिएको अनुमान छ।
म्यान्मार–बंगलादेशको सीमा सहर टेकनफका प्रहरी प्रमुख मैनुद्दिन खानले शुक्रबार मृत्यु भएका रोहिंग्यामा एक युवतीसमेत रहेको बताए। उनले भने, ‘उनीहरू केही बेर पानीमा तैरिएका थिए।’
म्यान्मारका लागि राष्ट्रसंघकी स्पेसल र्यानपोर्टर अन ह्युमन राइटस् यांगी लीले बिहीबार रखाइनको ‘अत्यन्त भयावह हिंसा’ गम्भीर चिन्ताको विषय भएको र तत्काल रोक्नुपर्ने बताएकी थिइन्।
बंगलादेशस्थित राष्ट्रसंघीय अधिकारीहरूले करिब ३८ हजार रोहिंग्या सीमा पार गरी बंगलादेश प्रवेश गरेको अनुमान गरेका छन्।
राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरकी क्षेत्रीय प्रवक्ता भिभियन टानले सडकछेउ र अन्यत्र जताततै टेन्ट र शिविरमात्र देखिएको बताइन्। उनका अनुसार नदी पार गरी बंगलादेश प्रवेशका क्रममा रोहिंग्यामाथि गोली हानिएको सुनेको तर गोली प्रहार गर्नेहरूबारे केही थाहा नभएको बताइन्।
अझै हजारौं रोहिंग्या सीमा पारीबाट बंगलादेश प्रवेश गर्न नदी किनारमा प्रतीक्षारत रहेको बताइएको छ।
प्रहरी चौकीमा रोहिंग्या लडाकुको आक्रमणमा १२ जना सुरक्षाकर्मी मारिएपछि सेना र स्थानीय बौद्धहरूले रोहिंग्यामाथि साटो फेर्न आक्रमण थालेको त्यहाँबाट भागेका रोहिंग्याले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।