काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आफ्नो फेसबुक वालमा ‘काम आफैं बोल्छः तुइन विस्थापित’ भन्दै एक भिडियो सार्वजनिक गरे।
उक्त भिडियोमा २०७४ सालअघि तुइनमा हिँडेको र आफ्नो सरकार आएपछि तुइन विस्थापित गरेर पुलको व्यवस्था गरेको देखाइएको छ। जसमा एक हजार सात सयभन्दा बढी टिप्पणी आएका छन्।
राजेन्द्र भट्टराईले केपी शर्मा ओलीलाई व्यङ्ग्य गर्दै लेखेका छन्, ‘विकास देखेर विश्व चकित छ।’ त्यही टिप्पणीमा गोकर्ण ओझा लेख्छन् ‘उम् त्यही चकित भएर दिन प्रतिदिन लाखौं युवाहरु देश छोडेर विदेश जान्छन् होला है।’
त्यस्तै सुरेन्द्र चौलागाईं लेख्छन्, ‘तुइन अझै बाँकी छन्, बाल्कोटको बार्दलीबाट तुइन देखिँदैनन्।’
भीमसेन खनालले टिप्पणी गरेका छन्, ‘तुइन कहाँ र कसरी विस्थापित भयो? मर्ने बेला सही र सत्य बोल्नु, मर्नेबेला अझै भ्रम छर्दै बस्छौ?’
अर्का देवसिंह बोहोरा लेख्छन्, ‘दार्चुला जिल्लामा अझै तुइन बाँकी नै छन्। यसरी जनतालाई भोट मागेर भ्रम नछरौँ।’
वीरेन्द्र डुम्रेले लेखेका छन्, ‘त्यही विस्थापित भएको तुइनबाट जयसिंह धामी बेपत्ता भएको बिर्सेको बाबै।’
समर्पण नेपाल लेख्छन्, ‘अनि तुइनबाट खसेर मरेकाहरुको आत्मा साक्षी राखौँ न, ढुङ्गा उछिट्टिएर बितेकाहरुको आत्मा साक्षी राखौँ न, अरे यसरी माग्नै पर्दैन भोट त दिइहाल्छन् नि जनताले, तिम्रो हो सतप्रतिशत जित।’
रोशन हजक लामो प्रतिक्रिया दिँदै व्यङ्ग्यात्मक तरिकाले लेख्छन्, ‘८ खर्ब ऋण लिएर जाबो तुइन विस्थापित गर्न सक्नुभएन। महाकाली नदीमा नेपालीले ज्यान गुमाएको बिर्सनुभयो जस्तो छ तपाईंले। कोरोना बेसार पानी, हाच्छ्युँ गरेर जान्छ, नेपालीहरुले सजिलै पचाउँछ भनेर १२ हजारभन्दा बढी नागरिकको ज्यान गयो। बचाउन सकिन्थ्यो होला। तर त्यो भानुभक्तेको घरमा पाहुनालाई सत्कार गर्न हतार भयो। त्यहीमाथि ओम्नी, बालुवाटारको जग्गा जस्ता के–के छन् के–के। विकासको कुरा गर्नुहुन्छ, रेल आएर पनि १२–१४ महिनासम्म चलाउन नसक्ने तपाईंको सरकारलाई के भन्ने देशको ढुकुटी सत्यानाश गरेको भन्ने त होला नि। तपाईंको पालामा भ्युटावर र सभाहलको निर्माण भयो अनि त्यसैलाई विकास भन्नुभयो र देशको ढुकुटीबाट लगभग ४० अर्ब स्वाहा भयो।’
उनी थप लेख्छन्, ‘त्यो ४० अर्बमा देशको ७७ जिल्लामा ५०–५० करोडको अस्पताल वा विद्यालय बनाउन सकिन्थ्यो। तर भ्युटावर विकासको फुर्ती लगाउनुभयो। जसबाट देश अनि जनताले केही लाभ पाउँदैनन्। यस्ता कुरा कति छन् कति। तपाईंसहित भूतपूर्व प्रधानमन्त्री, अहिलेका प्रधानमन्त्री र पार्टीहरुले गरेका राज्य दोहनको कालो कर्तुतहरु, नो नट अगेन।’
सन्तोष आर सुवेदी लेख्छन्, ‘अनि अस्ति भर्खर जयसिंह धामीले तुइनबाटै खसेर मृत्युवरण गरे। अरु सबै कुरामा खुरापाती चल्छ तर यस्तो कुरामा मिल्दैन।’
२०७८ साउन १५ मा भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा खुस्काइदिएपछि महाकाली नदीमा खसेर ब्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भए। नेपालतर्फको मालघाटबाट भारतको धार्चुलामा पर्ने गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट नदी पार गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीले लठ्ठा खुस्काइदिएपछि महाकालीमा खसेका थिए।
त्यसको वर्ष दिन बित्न नपाउँदै ब्यास गाउँपालिका–२, दुम्लिङका १७ वर्षीय सचिन बुढाथोकी भारतबाट महाकाली तरेर नेपालतर्फ आउने क्रममा तुइनबाट खसेर बेपत्ता भए। उनी गत असार २२ गते भारतीय बजारबाट किनमेल गरी फर्किने क्रममा तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए।
दार्चुला जिल्लामा तुइनबाट खसेर २०६७ सालमा इन्जिनियर राजेन्द्र न्यौपाने बेपत्ता भए। २०७७ साउन ६ मा हेटौंडाका ७७ वर्षीय कृष्णप्रसाद पराजुलीले सामरी र राप्ती खोलाको दोभान नजिकै टाँगिएको तुइनबाट खसेर ज्यान गुमाए।
त्यही महिनाको साउन १९ मा लमजुङको दोर्दी खोला तर्ने क्रममा तुइनबाट खसेर दोर्दी गाउँपालिकाकी फूलमाया गुरुङ बेपत्ता भएकी थिइन्। २०७२ पुसमा दार्चुलाकै सुन्सेराका ५५ वर्षीय चन्द्रसिंह कुँवर तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।
२५ वर्षको अवधिमा महाकाली नदीका तुइनबाट खसेर मात्रै २६ जनाले ज्यान गुमाइसकेका छन् भने अन्य नदी तथा खोलाका तुइनले पनि यो अवधिमा धेरैको ज्यान लिइसकेको छ।
गृह मन्त्रालयका अनुसार गत असारको घटनासहित हालसम्म महाकालीको दार्चुला क्षेत्रमा मात्रै तुइनबाट खसेर २६ जनाको मृत्यु भएको छ। महाकाली नेपाल–भारत सीमवर्ती नदी हो।
दार्चुलाको महाकाली नदीमा तुइन विस्थापन गरी सुरक्षित र सहज आवागमन गर्न ब्यास गाउँपालिका–६, बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६, बाँकु तथा ब्यासकै मडगाउँमा झोलुङ्गे पुल प्रयोगमा आएका छन्।
जयसिंह धामीको मृत्युपछि विस्थापन भएको ठाउँमा पुल निर्माण कार्य अघि बढेको छ। दार्चुलाकै महाकालीको ब्यास,४ स्थित मलघट्टे र भारत जोड्ने पुल निर्माणकै क्रममा छ। तर कहिले सकिने भन्ने टुंगो छैन।
अरु थुप्रै स्थानमा विद्यार्थीदेखि मेलापात र घाँस दाउरा गर्दा पनि तुइनकै भर पर्नुपर्ने बाध्यता छ। महाकाली, कर्णाली, सेती, कालीगण्डकी भेरी लगायत ठूला नदी हुन वा स्थानीय खहरे र ठूला खोला, आवश्यकता अनुसार पायक पर्ने ठाउँमा पुल नबन्दा ज्यान गुमाउनु परेका दुःखदायी घटनाका समाचार आउने गर्छन्। यतिमात्र होईन, यी क्षेत्रका जनताले खोलाबाट तुइनमार्फत दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अझै बाँकी छ।
तत्कालीन केपी शर्मा ओली सरकारले आर्थिक वर्ष २०७६÷७७ भित्र देशबाट तुइन विस्थापित गरिसक्ने घोषणा गरेको थियो। त्यसअघि २०७५ साउन १८ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत योजना तथा अनुगमन शाखाले सबै स्थानीय तहलाई पत्र पठाउँदै विभिन्न स्थानमा रहेका नदी, खोला वारपार गर्न सुरक्षित उपाय नभएको अवस्थामा निर्माण गरिएका तुइनलाई झोलुङ्गे पुलले विस्थापन गर्न निर्देशन दिएको थियो।
त्यसअघि ओली पहिलो पटक प्रधानमन्त्री बन्दा २०७२ असोज २५ मो मन्त्रिपरिषद्को पहिलो बैठकबाटै तुइन विस्थापन गरिने निर्णय गरेका थिए। तुइन हटाउन २०७३ मा सरकारले ‘सार्वजनिक तुइन विस्थापन कार्यविधि’ नै जारी गरेको थियो।
त्यसको दुई वर्षपछि मन्त्रिपरिषद्को २०७५ भदौ २९ को बैठकले तुइनको प्रयोग रोकथाम, नियन्त्रण, निरुत्साहित गर्न प्रभावित व्यक्तिको उद्धार तथा सहायतासम्बन्धी कोष सञ्चालन नियमावली–२०७५ ल्याएको थियो।
तर, मानवीय क्षति हुने गरी वर्षेनी यस्ता घटना दोहोरिने गरेका छन्। नियमावलीमा उल्लेखित प्रावधान अनुसार प्रभावित क्षेत्र लक्षित विशेष कार्यक्रम ल्याएर तुइन प्रयोग नियन्त्रण हुन सकेको छैन। पहिलो कार्यकालमा ओलीले तुइन विस्थापन अभियानलाई मुख्य उपलब्धिका रुपमा लिएका थिए। त्यसपछि सरकारले तुइन विस्थापन गरी त्यस स्थान वरपर स्थानीयलाई पायक पर्ने ठाउँमा झोलुङ्गे पुल निर्माणको कार्यक्रम अघि बढाइएको थियो।
२०७२÷०७३ मै देशभर १ सय ९८ स्थानमा तुइन रहेको पहिचान भएको थियो। त्यसमध्ये हालसम्म १ सय ३० बढी स्थानमा तुइन विस्थापन गरी पुल बनाइएको सरकारले जनाएको छ। तर बाँकी ठाउँमा पुल नबन्दा जोखिमपूर्ण यात्रा मात्रै होइन, ज्यानै जाने घटना दोहोरिरहेका छन्।
नागरिकको सहजता र सुरक्षाका लागि तुइन विस्थापन अभियानलाई तिव्रता दिनुपर्ने दबाब सरकारमाथि परेको छ। महाकालीमा मात्रै सरकारले विस्थापन गरी ११ ठाउँमा पुल निर्माण गर्नुपर्ने गरी कार्ययोजना ल्याएको थियो। त्यसमध्ये २ ठाउँमा निर्माण सम्पन्न, २ ठाउँमा निर्माणाधीन छन् भने अरु ७ ठाउँमा निर्माण हुने सुरसार समेत छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।