काठमाडौं– रुसमा भएको सन् २०१८ को विश्वकपपछि भेट्रान डिफेन्डर जेरार्ड पिकेले स्पेनको राष्ट्रिय फुटबल टोलीबाट सन्यास लिए।
चार वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका पिकेले अहिलेसम्म सन्यास फिर्ताको औपचारिक जानकारी गराएका छैनन्। तर, अनौठो त के भने सन्यास लिइसकेका उनै पिकेलाई स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकेले राष्ट्रिय टोलीमा समावेश गराएका छन्। १९ दिनपछि कतारमा सुरु हुने विश्वकपका लागि ५५ सदस्यीय प्रारम्भिक टोली छनोट गर्ने क्रममा इनरिकेले क्याटलान क्लब बार्सिलोनाका उपकप्तान पिकेलाई समेत समावेश गराएका छन्।
प्रारम्भिक छनोटपछि २६ सदस्यीय अन्तिम टोलीको छनोट हुनेछ। २६ सदस्यीय टोलीमा समेत एनरिकले पिकेलाई समावेश गराए भने कतार विश्वकप उनका लागिमात्रै नभएर सबैका लागि सरप्राइज हुनेछ। जबकि, चार वर्षअघि रुस विश्वकपपछि सन्यास घोषणा गरेका पिकेलाई कतारको मैदानमा दर्शकले देख्न पाउनेछन्।
पिके अहिले बार्सिलोनामा मुख्य प्रशिक्षक जाभी हर्नान्डेजको चौथो रोजाइमा पर्छन्। अधिकांश समय बेन्चमै बसेर बिताएका उनै पिकेलाई एनरिकेले अन्तिम टोलीमा समावेश गराएको अवस्थामा ठूलो सरप्राइज हुनेछ। ३५ वर्षीय पिकेले रुस विश्वकपपछि राष्ट्रिय टोलीका लागि खेलेका छैनन्।
बार्सिलोनामा स्थान बनाउन लगातार संघर्षरत रहेका पिकेलाई एनरिकेले प्रारम्भिक टोलीमा राखेपछि उनको निर्णयको प्रशंसा र आलोचना दुवै भइरहेको छ। सन् २००९ देखि २०१८ सम्म पिकेले स्पेनका लागि १०२ क्याप जित्दा ५ अन्तराष्ट्रिय गोलसमेत गरेका छन्।
विश्वकपको प्रारम्भिक टोलीमा मुख्य प्रशिक्षक एनरिकेले अर्का भेट्रान डिफेन्डर सर्जियो रामोसलाई समावेश गरेका छन्। झण्डै २० महिनापछि पूर्वकप्तान रामोसले राष्ट्रिय टोलीको ढाका ढक्ढक्याएका हुन्।
फ्रेन्च क्लब पीएसजीमा सुरुवाती ११ मा खेल्न थालेपछि एनरिकेले रामोसलाई विश्वकपको प्रारम्भिक टोलीमा समावेश गरेको बताइएको छ।
रामोस र पिकेको जोडी फेरि जमेको हेर्ने धोको स्पेन राष्ट्रिय टोलीका अधिकांश समर्थकको चाहना देखिन्छ। त्यो चाहना पूरा हुन्छ हुन्न अब १० दिन कुर्नुपर्ने हुन्छ। किनकि, ११ नोभेम्बरमा एनरिकेले अन्तिम टोली घोषणा गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।