काठमाडौं– फुलहमसँग लज्जास्पद हार बेहोरपछि इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टिभन जेरार्डलाई बर्खास्त गरेको छ।
प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा एस्टन भिल्ला फुलहमसँग ३-० ले पराजित भएको थियो। त्यसलत्तै एस्टनले मुख्य प्रशिक्षक जेरार्डलाई बर्खास्त गरेको हो। ४२ वर्षीय जेरार्ड ११ महिना अघि, २०२१ को नोभेम्बरमा एस्टनका मुख्य प्रशिक्षक नियुक्त भएका थिए।
जेरार्डको नेतृत्वमा एस्टनले ४० खेलमा मात्र १३ जित निकालेको छ। लिभरपुलका पूर्वकप्तान जेरार्ड रेन्जर्सको तीन वर्षको कार्यकाल सकाएर एस्टन आएका थिए। एस्टन क्लब प्रिमियर लिगको १७ औं स्थानमा छ।
‘हामी स्टिभनलाई उनको कडा परिश्रम र प्रतिबद्धताका लागि धन्यवाद दिन चाहन्छौं। उनलाई भविष्यका लागि शुभकामना दिन चाहन्छौं’, भिल्लाका प्रवक्ताले भनेका छन्।
जेरार्ड बर्खास्तीमा परेपछि अब भिल्लाको नेतृत्व कसले लिन्छ भन्ने टुंगो लागेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।