पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै स्वर्ण पदक जितेको छ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समयdf गोलरहित बराबरी भएपछि अतिरिक्त समय थप गरिएको थियो। उक्त समयमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलियो। टाइब्रेकरमा समेत ४-४ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो।
एपीएफको जितमा गोरक्षक राजु नगरकोटी नायक बने। उनले २ पेनाल्टी प्रहारलाई बचाउ गर्दै टोलीलाई स्वर्ण दिलाए।
एपीएफका लागि नवीन लामा, आवास लामिछाने, सुदिल सिर्खाकार, गोलरक्षक राजु नगरकोटी, रितेश धिमाल र विश्वास उदासले गोल गरे। सनिस श्रेष्ठको प्रहार भने बाहिरियो।
आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सिमान्त थापा, विवेक बस्नेत र विकास खवासले गोल गर्दा सुमन अर्याल र सेसेहाङ आङदेम्बेको प्रहार एपीएफका राजु नगरकोटीले बचाउ गरे।
त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा एपिएफलाई केही दबाबमा राखे पनि गोल गर्नबाट चुक्यो। खेलको नवौं मिनेटमा दिनेश हेनजनको क्रसलाई नवयुगको प्रहार पोष्टनजिकै बाट बाहिरिएको थियो।
यस्तै ३३औं मिनेटमा एपीएफका मनि लामाले गरेको उत्कृष्ट प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरे।
३५ औं मिनेटमा आर्मीका सुमन अर्यालले डिएरिया क्षेत्रमा गल्ति गर्दा एपीएफका प्रदिप लामा गोल गर्नबाट चुके। उनको प्रहार बाहिरियो ।
४९ औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा विकास तामाङको हेडर एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाउ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।