काठमाडौं– नेपालको सबैभन्दा ठूलो अर्घाखाँची सिमेन्टले सोमबारबाट आफ्नो उत्पादनको औपचारीक निर्यातको थालनी गरेको छ।
रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा १४०० बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलानसिमेन्ट’ (पिपिसी) सिमेन्ट निर्यात गरेको हो।
कम्पनीकाअनुसार भारतको नौतनवा, महाराजगंजस्थितशिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादन खरिद गरेको हो।
‘भारतीय बजारतर्फको निकासीमा यो पहिलो कदम हो। सरकारले प्रदान गरेको आठ प्रतिशत अनुदानले यो उपलब्धी सम्भव भएको हो। यसले भारतसँगको व्यापार घाटा कम गर्नमा सहयोग पुग्ने छ,’ अर्घाखाँचीसिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले भने।
त्यसैगरी अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योग सुरु भएदेखि निर्यात गर्ने सपना पूरा भएको बताए।
‘अब मेरो चाहना उद्योगले उत्पादन गर्ने अधिकांश सिमेन्ट भारत निकासी होस् भन्ने हो,’ उनले भने।
उनका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिमबंगाललगायत क्षेत्रमा चुनढुंगा खानी छैन। त्यहीबजार ‘क्यास’गर्न भारत निर्यात थालिएको हो।
यस अवसारलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकहरुले उपभोग गर्नुपर्नेमा पनि उनले जोड दिए। सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयात गर्ने वातावरण मिलाइदिनुपर्ने उनको आग्रह छ।
भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट लिमिटेडको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आईएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात हुन थालेको हो।
कम्पनीले ओपीसी, पीपीसी र क्लिङ्कर निर्यातका लागि आईएसआई मार्क पाइसकेको छ। जसअनुसार कम्पनीले आगामी दिनमा आफ्ना ओपिसी र क्लिंकर उत्पादनलाई पनि छिमेकी मुलुकका बजारमा निर्यात गर्ने योजना लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।