पोखरा– सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी)को खेलमा एपीएफले बागमती प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। बागमती भने अभागी टोली बन्दै प्रतियोगिताबाट बाहिरिएको छ।
पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको खेलमा बागमतीले सुरुआती अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु पर्यो।
पहिलो हाफको इञ्जुरी समयको पहिलो मिनेटमै अभिषेक रिजालले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए। तर, दोश्रो हाफ भने बागमतीको पक्षमा रहेन।
खेलको ६५औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काए। त्यसको एक मिनेटपछि नवीन लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए। लामाले दोश्रो हाफको इञ्जुरी समयमा थप एक गोल गर्दै एपीएफको जित सुनिश्चित गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।