काठमाडौं– बार्सिलोनाका प्रमुख प्रशिक्षक जाभी हर्नान्डेजले आफ्नो टोली खराब लयबाट गुज्रिरहेको बताएका छन्।
स्पेनिस ला–लिगा फुटबलमा गएराति प्रमुख प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग ३–१ गोल अन्तरले पराजित भएपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
जाभीले खेलाडीमा गतिशीलताको कमी देखिएको आरोप लगाउँदै त्यसले नकारात्मक असर पारिरहेको आरोप लगाएका छन्।
‘हामी नकारात्मक लयमा छौं भन्ने मलाई महशुस भइरहेको छ। हामीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनौं, उनीहरू (रियलका खेलाडी)ले सदुपयोग गरे,’ उनले भने, ‘अब हामीले गतिशीलता परिवर्तन गर्नुपर्छ, धेरै सुधार गर्नुपर्छ।’
यद्यपि, जाभीले आफूहरूमा सुधार गर्ने विश्वास र प्रयास रहने भन्दै सकारात्मक प्रतिक्रियासमेत दिए।
‘यसका बीच हामी हाम्रो कमजोरी सुधार्ने प्रयास गर्दैछौं। फेरि पुरानै लयमा फर्कने हामीसँग आत्मविश्वास छ,’ उनले थपे।
गएराति बार्सिलोनाले घरेलु टोली रियललाई ३–१ गोल अन्तरले नतिजा सुम्पिएको थियो। रियलका लागि करिम बेन्जेमा, फेडेरिको भाल्भर्डे र रोड्रिगोले एक–एक गोल गरेका थिए भने बार्सिलोनाका लागि फरान टोरेसले सान्त्वना गोल फर्काएका थिए।
यस जितसँगै ला–लिगामा रियलले बार्सिलोनासँग तीन अंकको स्पष्ट अग्रता लिएको छ। शीर्ष स्थानमा रहेको रियलको २५ तथा दोस्रो स्थानको बार्सिलोनाको २२ अंक छ।
यतिबेला बार्सिलोना च्याम्पियन्स लिगमा पनि खराब अवस्थामा छ। पाँच पटकको विजेता बार्सिलोना समूह चरणबाटै बाहिरिने सम्भावना लगभग निश्चित छ। अघिल्लो वर्ष पनि बार्सिलोना समूह चरणबाटै बाहिरिएको थियो।
यता, ला–लिगा पनि रियललाई सुम्पिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।