बोगोटा : कोलम्बियाली विद्रोही द रिभोल्युसनरी आर्म्ड फोर्सेस अफ कोलम्बिया (फार्क) ले राजनीतिक दल खोलेको शुक्रबार औपचारिक घोषणा गरेको छ। वर्षौंदेखि सरकारसँग द्वन्द्वरत फार्कले हिंस्रक राजनीतिलाई शान्तिपूर्ण राजनीतिमा परिणत गरिएको घोषणा गरेको हो।
‘हाम्रो विगत क्रान्तिकारी र ऐतिहासिक छ,’ पूर्वविद्रोही नेता तथा प्रवक्ता इभान मार्कक्वाजले भने। उनले सरकारसँगको द्वन्द्व अब भने राजनीतिमा हुने बताएका छन्।
उनीहरूले अहिलेकै व्यवस्थामा नयाँ पार्टीमार्फत सामाजिक न्यायका लागि संघर्ष गर्न पार्टीमा रुपान्तरण गर्नुपरेको बताएका छन्।
पार्टी घोषणा गर्न राजधानी बोगोटामा १२ सय पूर्वलडाकु भेला भएका थिए। राष्ट्रपति जोन म्यानुएल सान्तोषको नेतृत्वमा कोलम्बियामा शान्ति प्रक्रिया अघि बढेको हो।
सान्तोष र विद्रोही नेता लोन्डोनोले गत नोभेम्बर २४ मा शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। कोलम्बियाली संसदले उक्त शान्ति सम्झौता गत डिसेम्बरमा अनुमोदन गरिसकेको छ।
अनुदारवादी पक्ष भने शान्ति सम्झौताको विपक्षमा छ। शान्ति सम्झौतापछि कोलम्बियामा करिब ५० वर्ष लामो आन्तरिक द्वन्द्व अन्त्य भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।