फाइल तस्बिर
काठमाडौं– जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ को बारकोटेबाडामा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या सात पुगेको छ।
मृतकहरूमध्ये पाँच जनाको सनाखत भएको छ। सनाखत भएका पाँचै जना एकै परिवारका रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। उनका अनुसार पहिरो शनिबार बिहान करिब ३-४ बजेको बीचमा खसेको हो।
गणेश बहादुर शाहीको घरमा खसेको पहिरोमा परी उनीसहित तीन छोरा र उनकी बुहारीको मृत्यु भएको हो। मृत्यु हुनेमा गणेश, उनका छोरा रमेश र रमेशकी श्रीमती तथा अन्य दुई छोरा अनमोल र मिलन रहेका छन्। यस्तै बेपत्ता भनिएका अन्य दुई जनाको पनि शव फेला परेको प्रजिअ केशरीले जानकारी दिए।
उनीहरुको सनाखत हुन सकेको छैन। यस्तै पहिरोमा पुरिएका दुई जनाको उद्धार गरिएको केशरीले जानकारी दिए।
अवस्था गम्भीर भएका उनीहरुलाई हेलिकप्टरबाट उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेको उनले बताए। पहिरोका कारण बाटो बन्द भएकाले जिल्ला सदरमुकामसम्म लैजानसक्ने अवस्था नभएपछि हेलिकप्टरबाट उद्धार गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।