काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन्। उनले त्यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सरकारमाथि हस्तक्षेप गरेको भन्दै पहिलेकै अवस्थामा फर्किन बुर्किना फासोका सैनिकलाई आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएका हुन्।
सेनाका तल्लो तहका अधिकारीहरूले शुक्रबार यसैवर्ष सेनाको बलमा गरिएको सैनिकको विद्रोहमार्फत् सत्तामा आएका सेनाप्रति बफादार मानिएको भनिएका एक नेता (जुन्टा) लाई देशमा जिहादी आक्रमणविरुद्ध लड्न असफल भएको भन्दै पदच्युत गरेका थिए।
महासचिव गुटरेसले थप शक्ति हत्याउने तथा देशका प्रजातान्त्रिक संरचनाहरु भत्काउने जस्ता कार्य नगर्न र गर्न नदिन त्यहाँका सेनालाई आग्रह गरेका छन्। बुर्किना फासोका सेना प्रमुखले शुक्रबार त्यहाँका राष्ट्रपति सत्ताच्यूत भएको घोषणा गरेका थिए। उनले देशको कार्यकारिणी अधिकार सेनाको हातमा रहेको बताएका थिए।
बुर्किना फासोको सरकारले सत्ता हत्याएको घटनाको युरोपेली संघलगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले विरोध गरेका छन्। उनीहरुले प्रजातान्त्रिक तवरबाट सरकार सञ्चालन गर्ने वातावरण निर्माण गर्न यहाँको सेनालाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।