काठमाडौं– इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको झडप तथा भागदौडपछि किचिएर कम्तीमा १२५ काे मृत्यु भएको छ। मारिनेमा दुई जना प्रहरी अधिकारीहरु समेत छन्। हताहतिको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
हजारौं मानिसहरु विभिन्न प्रवेशद्वारहरुबाट एकै पटक बाहिरिन खोज्दा किचिएर तथा अक्सिजनको अभावले ज्यान गएको प्रारम्भिक विवरणहरुमा बताइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३५ जनाको मैदानमै मृत्यु भएको थियो भने बाँकीको उपचारका क्रममा मृत्यु भएको थियो।
फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिँदा १८० जना घाइते भएको जनाइएको छ।
शनिबार पूर्वी इन्डोनेसियाको जाभा प्रान्तको कंजुरुहान स्टेडियममा साे घटना भएको थियो।
अरेमा एफसी र पर्सेबाया सुरबायाबीच खेल चलिरहेका बेला हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए। यसक्रममा केही व्यक्तिले खेलाडीमाथि समेत आक्रमण गरेका थिए।
घटनाले उग्र रूप लिएपछि नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको थियो।
विश्व फुटबलको शासकीय निकाय, फिफा, ले रंगशालामा भीड नियन्त्रणका लागि अश्रु ग्यास प्रहार गर्नमा प्रतिबन्ध लगाएको छ।
राष्ट्रपति जोको विडोडोले घटनाको छानबिन गर्न आदेश दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।