काठमाडौं– शुक्रबार बडादशैंको पाँचौं दिन स्कन्दमाताको विशेष पूजा गरिँदै छ। सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने धार्मिक विश्वास छ।
आजको दिन काठमाडौं उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकालीलगायतका मन्दिर र शक्तिपीठहरुमा विशेष पूजाअर्चना गर्ने परम्परासमेत रहेको छ।
आश्विन शुक्ल प्रतिपदाका दिन बिहान घटस्थापना गरी दशैं घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि हिन्दु नेपालीको महान् पर्व बडादशैं सुरु भएको हो। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। यो १५ दिनको समयलाई दुर्गा पक्ष पनि भनिन्छ। पूजा कोठा वा दशैं घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ। दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ। यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड समेत लाग्ने गर्दछ।
दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।