गुल्मी– गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले जिल्ला मै पहिलोपटक टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको छ।
चन्द्रकोट गाउँपालिकाले नागरिकहरुमा सरल र सहज सूचना सञ्चार प्रदान गर्नुका साथै नागरिकहरुले गाउँपालिकाबाट प्रदान हुने सार्वजनिक सेवा सुविधाका बारेमा निःशुल्क रुपमा जानकारी पाउन र आफ्ना समस्या तथा गुनासोहरु सहज तरिकले सम्बोधन गर्नका निम्ति टोल फ्रि नम्बर संचालनमा ल्याएको हो।
गुनासो सुनुवाइ गरी त्यसको व्यवस्थापनका लागि गाउँपालिकालाई थप प्रविधियुक्त र नागरिक सेवामैत्री बनाउने उद्देश्यले असोज १३ गते बिहीबारदेखि पालिकाले आफ्नै टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको हो।
नागरिकले अब १६६०७९५२३३३ टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बरमा सम्पर्क गरी आफ्ना सल्लाह सुझाव तथा गुनासाहरु गाउँपालिका समक्ष राख्न सक्नेछन्।
केही महिना पहिले गाउँपालिकाले सार्वजनिक सुनुवाइ गर्दा नागरिकले टोल फ्रि नम्बर राख्न गाउँपालिकालाई सुझाव दिएका थिए। सोही अनुरुप टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको अध्यक्ष युवराज केसीले बताए।
उनले नागरिकले गाउँपालिकासँग निर्धक्क तरिकाले गुनासो राख्न पाउने उल्लेख गरे। साथै यसले गाउँपालिका नागरिकको नजिक भएको पनि जिकिर गरेका छन्। प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले हस्ताक्षर गरेको एक सूचना जारी गदै गाउँपालिकाले सबैलाई जानकारी गराएको छ।
पालिकाको सेवा प्रवाहलगायतका अन्य विषयमा गुनासो, सुझाव तथा सल्लाह एवम् पृष्ठपोषण प्रदान गर्नका लागि सबैमा आग्रहसमेत गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।