काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा हिन्दू–मुस्लिमबीच द्वन्द्व चर्काउने प्रयास भइरहेको बताएका छन्। नेपालका केही जिल्लाहरुमा हिन्दू–मुस्लिमको सुमधुर सम्बन्ध र धार्मिक सहिष्णुतालाई खलल पुर्याउने प्रयास भइरहेको भन्दै यसबाट बच्न जरुरी रहेको अन्सारीको भनाइ छ।
हिन्दू नेपालीहरुको पर्व दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर मुस्लिम आयोगले बिहीबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले भने, ‘हामी कहीँ कतै सुन्छौँ मुस्लिम–हिन्दूको झगडा भयो रे। त्यो कुनै हिन्दू–मुस्लिमको कुनै द्वन्द्व भएको होइन, केही तत्व र घुसपेठियाहरुको काम हो। जुन हाम्रो सुमधुर सम्बन्ध र धार्मिक सहिष्णुतालाई खलल पुर्याउने प्रयास भएको छ।’
हिन्दु–मुस्लिमबीच झगडा नभइ प्रतिगामी तत्वहरुले धार्मिक सहिष्णुतालाई खलल पुर्याउन अवाञ्छनीय गतिविधि गरिरहेको अन्सारीको भनाइ छ। दशैं–तिहारको अवसरमा मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिनुको छुट्टै भिन्नता रहेको र यसले दुई धर्मबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा सहयोग पुग्ने अध्यक्ष अन्सारीले बताए।
‘हाम्रो देश बहुभाषी, बहुजाति, बहुधर्म, एक आपसमा मिलेर बसेका, विभिन्न जातजातिहरु मिलेर बसेको देश हो। हिन्दू समुदायको महान पर्वमा मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको छुट्टै भिन्नता छ,’ अन्सारीले भने, ‘यो कार्यक्रमको मुख्य उद्देश्य हाम्रो सामाजिक सद्भाव, धार्मिक सहिष्णुता त्यसमा थप मद्दत पुगोस् भनेर हो।’
मुस्लिम आयोगले पहिलोपटक आफ्नो कार्यालयमा कार्यक्रम राखेर हिन्दू नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठको अवसरमा शुभकामना दिनु धार्मिक सहिष्णुताको उदाहरण भएको सहभागीहरुले बताए।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेपाल प्रहरीका प्रतिनिधि, मानव अधिकार आयोगका प्रतिनिधि, राष्ट्रिय दलित आयोगका प्रतिनिधिहरुको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।