काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकहरुको जमिन कित्ताकाटसम्बन्धी विवरणका लागि डिजिटल प्रयोगमा ल्याउन निर्देशन दिएको छ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै अनलाइन प्रणाली ‘मेरो कित्ता प्रणाली’मार्फत् सेवा लिन निर्देशन दिएको हो।
“कुनै वित्तीय संस्थाबाट जग्गाको पूर्ण विवरणसहितको आधिकारिक पत्रसाथ आधिकारिक व्यक्ति नापी कार्यालयमा उपस्थित भइ नियमानुसार राजश्व बुझाई नापी कार्यालयबाट एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा उपलब्ध गराउँदै आएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘नापी विभागबाट हालै सञ्चालनमा ल्याइएको अनलाईन प्रविधिमा आधारित मेरो कित्ता प्रणालीमार्फत् सेवा लिन सक्ने व्यवस्था मिलाइएकाले उक्त प्रणालीमार्फत् सेवा लिन सम्बन्धित संस्थाहरुले यूजर एकाउन्ट लिई ‘डिजिटल प्रणालीमार्फत् जग्गाको नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८’ को अनुसूची ४ बमोजिमको ढाँचामा निवेदन अपलोड गरी अनलाइन प्रणालीमार्फत् कित्ता नापी नक्सा, फिल्डबुक, प्लट रजिष्टर प्रिन्ट तथा राजश्व भुक्तानीलगायतका सेवाहरु नापी कार्यालयमा उपस्थित नभइ प्राप्त गर्नसक्ने व्यवस्था मिलाइएको छ।”

मातहतका सबै बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त सेवा उपयोग गर्न पत्राचार गरिदिन भन्दै नापी विभागबाट अनुरोध भइ आएकाले यस्तो सूचना जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।
‘डिजिटल प्रणालीमार्फत् जग्गाको नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८’ मा भएको व्यवस्था अनुसार सम्पूर्ण सेवा उपयोग गर्न सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइएको राष्ट्रबैंकले सूचनामा उल्लेख गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।