काठमाडौं– वीरगञ्जस्थित कृषि औजार कारखाना पुन: सञ्चालनका लागि सरकार र राष्ट्रिय आविष्कार केन्द्र बीच सम्झौता भएको छ।
भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मंगलबार अर्थ मन्त्रालय आविष्कार केन्द्रबीच सम्झौता भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।
अर्थमन्त्री शर्माको उपस्थितिमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरे।
आर्थिक वर्ष २०७९/०८० को बजेटले लिएको उत्पादन वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापनको मूल नीति अनुसार हाल बन्द रहेको कृषि औजार कारखाना पुन: सञ्चालनका सम्झौता भएको मन्त्री शर्माले बताएका छन्।
मन्त्री शर्माले २१ जेठमा वीरगञ्ज पुगेर कारखानाको स्थलगत निरीक्षण गरेका थिए। त्यहीबेला उनले कारखना पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए।
सम्झौतापछि आविष्कार केन्द्रका अध्यक्ष पुनले आफूले कहिल्यै नसोचेको जिम्मेवारी पाउँदा चिठ्ठा परेको जस्तो महसुस भएको बताए। पुनले सम्झौता राम्रो कामको लागि भएको समेत बताए। साथै, आफूहरूको ज्ञान र विवेकले भ्याएसम्म राम्रो गरेर देखाउने प्रतिबद्धता जनाए।
सम्झौताअनुसार आविष्कार केन्द्रले कारखानाको सञ्चालन जिम्मा १० वर्षका लागि पाएको छ। योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरण लगायतका कामसहित आविष्कार केन्द्रले १० वर्षसम्म सञ्चालनको जिम्मा पाएको हो।
कारखानाको मर्मत सम्भार र औजार थप गर्न तथा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था पहिलोपटक सरकारले गर्नेछ। यस्तै, आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम समेत सञ्चालन गरी जनशक्ति उत्पादन एवम् आधुनिक कृषि औजार उत्पादन तथा बिक्री गर्न पाउनेछ।
औजार बिक्रीबाट करपश्चातको रकमको ५० प्रतिशत ‘राष्ट्रिय आविष्कार केन्द्र कोष’ खडा गरी त्यहाँ रहनेछ भने बाँकी ५० प्रतिशत वार्षिक रूपमा नेपाल सरकारको राजश्व खातामा जम्मा गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।