काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले ब्याजदर बढाएर उद्योगी, व्यावसायीहरुलाई ठगी गरेको आरोप लगाएका छन्।
मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्।
उनले सरकारले बैंकहरुले बढाएको ब्याजदर नियन्त्रण नभए व्यावसायी पलायन हुनुपर्ने अवस्था आउने बताए। बजारमा तरलता संकटलाई देखाएर पहिल्यै लिएको ऋणमासमेत बैंकहरुले चर्को ब्याज लिइरहेको उनको आरोप थियो।
उपाध्यक्ष श्रेष्ठले बैंकहरुले निक्षेपको ब्याजदर बढाएर निक्षेप संकलन गरी त्यसमा प्रिमियम जोडेर ऋणिमाथि थप बोझ थपेको बताए। श्रेष्ठले बैंकहरुले आफैं ब्याज बढी दिने र आधार दर बढेको बाहनामा कर्जाको ब्याजदर र कर्जामा मार्जिन दरसमेत वृद्धि गरेको बताए।
बैंकहरुले निक्षेपको ब्याजदर बढाएर निक्षेप संकलन गर्न नपाउने उनको भनाइ छ। उनले बजारमा तरलता अभावले बैंकहरुको शाखामा १० लाखको चेक लिएर जाँदासमेत पैसा छैन भनेर फर्कनुपर्ने अवस्था रहेको बताए।
बैंकहरुले अहिले उच्च नाफाका लागि मात्र लगानी गरिरहेको श्रेष्ठले आरोप लगाए। बैंकको २ अर्बको पुँजीमा २ करोड कमाउँदा १० प्रतिशत लाभांश बाँड्न पुग्ने भन्दै अहिले २४ अर्बको पुँजी भएकाले २ अर्ब कमाउनको लागि ब्याजदर बढाएर कमाउन लागेको उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।