काठमाडौं– राजनीतिक विश्लेषक तथा लेखक केशव दाहालको गैरआख्यान निबन्ध लेखनको संगालो ‘माधवी ओ माधवी’ शुक्रबार एक समारोहबीच विमोचन गरिएको छ।
‘मोक्षभूमि’ उपन्यासमार्फत् नेपाली साहित्यमा नवीन स्वाद पस्किएका लेखकको नयाँ शैलीमा लेखिएको यो पुस्तक मूलतः एक लेखकले विभिन्न समय र कोणबाट देखेको नेपाली समाज, यहाँको मनोविज्ञान र राजनीतिका घुम्तीहरुको वृत्तान्त हो।
‘गैर–आख्यानात्मक भइकन पनि आख्यानको स्वाद पाइनु ‘माधवी ओ माधवी’को विशेषता हो,’ प्रकाशक किताब पब्लिसर्सले भनेको छ।
‘माधवी ओ माधवीमा मैले एउटा आँखीझ्याल बनाएको छु, जसबाट मेरो पुस्ताको समय, भावधारा र जीवनको इन्द्रेणीलाई चियाउन सकिन्छ,’ कार्यक्रममा बोल्दै लेखक केशव दाहालले भने। विभिन्न समयमा लेखिएका यी निबन्धहरूमा लेखकले तत्कालीन समय र सन्दर्भलाई मसिनोसँग केलाएका छन्।
शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक दाहालसँग साहित्यकार उमा सुवेदीले अन्तरसंवाद गरेकी थिइन्। लेखक कुमार नगरकोटीले आफ्ना थुप्रै छोटा–मिठा–आकर्षक प्रयोगात्मक कविताहरू वाचन गरेर कार्यक्रमलाई रोचक बनाएका थिए, त्यस्तै रंगकर्मी घिमिरे युवराजले ‘माधवी ओ माधवी’ माथि टिप्पणी गरेका थिए।
‘व्यक्तिको विचार वा विश्वासको निर्माणमा ऊ बसेको समाजको सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक परिस्थितिले कसरी निर्धारण गर्छ भन्ने कुरा दाहालका केही रचनाले मिहिन र कलात्मक ढंगले वैचारिकी प्रस्तुत गरेका छन्,’ घिमिरेले भने।
किताब पब्लिसर्सका अनुसार फरकफरक स्वादका २३ ओटा निबन्धहरूको संकलन ‘माधवी ओ माधवी’ विगत यात्राको वृत्तान्तमात्र होइन, वर्तमानको सूक्ष्म चित्रण पनि हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।