काठमाडौं– कवि कैलासकुमार पाण्डेयको नवीनतम कविताकृति ‘आकाश छुने रहर’ बजारमा आएको छ। गीत, गजल र कवितामा यसअघि नै चार कृति प्रकाशित गरिसकेका पाण्डेयको आकाश छुने रहर पाचौं कृति हो।
कवि राजेन्द्र तारकिणीले ‘आकाश छुने रहर’ कविता सङ्ग्रहभित्र राष्ट्रियताको भावना, निम्नवर्गीय एवं हेलितपेलित तप्काका मानिसप्रति सहानुभूति, नारीमाथि हुने हिंसाको विरोध, आफ्नोपन र पुर्खाको देनप्रति गौरव, ग्रामीण तथा शहरी समाजको विषम चित्र लगायत विविध भाव र स्वादका कविता रहेको बताए।
कवि पाण्डेयले लेखन सिद्धान्त, व्यवहार, प्रयोग, वादभन्दा पर केही छ भने त्यसमा टेकेर लेख्ने सोच पलाएर मात्र कविता लेखेको बताए। ‘त्यसका पछाडी आकाश छुने रहर नै महत्वपूर्ण रूपमा देखियो। सपनाको ओइरो लाग्छ, परिकल्पनाको पहाड बन्छ। आखिर सपना सबै सपना नै हुन्, कल्पना गर्न त कसले रोक्न सक्छ र? रहर गरेर मात्र पनि कहाँ हुन्छ र?,’ उनले भने, ‘जीवनमा आफूले गरेको परिश्रमले दिने फल मात्रै आफ्नो हुन्छ, अरू सबै कल्पना मात्र हुन्। तर, पनि इच्छा, चाहना, आकांक्षा, रहर आ–आफ्नै हुन्छन्। यथार्थमा रहेर गर्न नसके पनि कवितामा आकाश छुने रहर गरेँ। जीवनका भोगाइ, सामाजिक अवस्थिति, समसामयिक मुद्दाहरू, नितान्त निजी भावनाहरू यी कवितामा पस्केको छु।’
पाण्डेयका कवितामा सुन्दर समाजको परिकल्पना, मानवीय मूल्य–मान्यता ह्रास हुँदै गइरहेको र सांस्कृतिक विचलनप्रति चिन्ता, विकृति–विसङ्गतिप्रति शालीन विद्रोह सामाजिक अवस्थिति, राजनीतिक व्यंग्यचेत, जीवन–जगत्का भोगाइ एवं अनुभूतिहरू सरल र मीठो शैलीमा प्रस्तुत गरिएको सम्पादन हाउसका दीपक नेपालले बताए।
सम्पादन हाउस प्रालिले बजारमा ल्याएको उक्त संग्रहभित्र ५२ वटा कविता समाविष्ट छन्। कृतिको मूल्य २५० रुपैयाँ राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।