काठमाडौं– हामी प्रायः विगत र भविष्यको चिन्ता गर्छौं तर, वर्तमानमा बाँच्न बिर्सिन्छौं। आखिर किन? यस्तै प्रश्न र उत्तरको खोजी गर्दै काठमाडौंको कालिकास्थानमा रहेको सर्वनाम थिएटरमा नाटक ‘समय : दुई युगको संवाद’ मञ्चन सुरु भएको छ।
सर्वनामकै १८औं ब्याचका प्रशिक्षार्थी समूहको प्रस्तुति र निर्देशनमा तयार पारिएको नाटकको लेखन १८औं ब्याचका प्रशिक्षार्थी सुजता पन्तले गरेकी छन्। नाटकमा पुरानो युग र नयाँ युगबीचको संवादलाई देखाउन खोजिएको छ।
नाटकको सुरुआतमा घडीको सुईको छकछक छकछक आवाज बजिरहन्छ र पृष्ठभूमिमा महिलाको आवाज आउँछ– ‘म समय हुँ। म तिम्रो भूत हुँ। म तिम्रो वर्तमान पनि हुँ र तिम्रो भविष्य पनि हुँ।’
लामो हाँसोपश्चात् विश्वभर फैलिएको कोरोना महामारीको समयलाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको छ।
नाटकमा सन् २०२० र १९४० बीचको संवाद देखाउन खोजिएको छ। यो संवादमा महात्मा गान्धी, हिटलर, चार्ली च्याप्लिय र अबलर्र्ट आइन्स्टाइन उपस्थित हुन्छन् र आ–आफ्नो तर्क प्रस्तुत गर्छन्।

नयाँ युगमा भने एक टेलिभिजन कार्यक्रममा वैज्ञानिक, नेता, साधु र ज्योतिषबिचमा बहस चलिरहन्छ। यो युगको सबैभन्दा बलवान समय हो। समयअनुसार र सोही समयमा घटेका घटनामार्फत् नै हामीले सही र गलत ठम्याउँछौं। यो नाटकले त्यही मियोलाई समाएर वर्तमानको महत्त्वलाई दर्शाउने प्रयत्न गरेको छ।
इतिहासका महान पात्र र तिनले गरेका कामहरुबाट वर्तमानलाई चिहाउने प्रयत्न यो नाटकले गरेको छ। प्रायः हामी भूत र भविष्यको चिन्तामा वर्तमानमा बाँच्न बिर्सिन्छौँ, वर्तमान राम्रो भयो भने भूत र भविष्य आफैं उत्कृष्ट हुनसक्छ भन्ने नाटकको मूलसार हो।
सर्वनामको तीन महिने बन्द प्रशिक्षण र करिब २ महिनाको तयारीपश्चात् निर्माण गरिएको नाटकको मञ्चमा अमन श्रेष्ठ, अञ्जना गर्तौला, उत्सव पौडेल, गौरव केसी, तिलक भण्डारी, बसन्तबहादुर खड्का, भुवन सापकोटा, मिलन शाक्य, युवराज थापा मगर, राम दाहाल, सञ्जु तामाङ, सुजता पन्त र सुवास बस्याल रहेका छन्।

प्रकाश परिकल्पना पाश्लाक्पाको रहेको छ भने प्रकाश परिचालन निरज पन्थीले गरेका छन्। नाटकमा संगीत परिचालन मनोज महर्जनले गरेका छन् र संगीत संयोजन कृपेश घिमिरे र मोहन अभिलाषीले गरेका हुन्।
बिहीबार बाहेक हरेक दिन साँझ ५ः१५ र शनिबार अतिरिक्त शो दिउँसो १ बजे पनि प्रदर्शन हुने नाटक असोज ८ गतेसम्म निरन्तर मञ्चन हुने सर्वनामले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।