काठमाडौं– बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।
बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गए राति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ३–० गोलअन्तरले पराजित भएको हो। यसहारसँगै नेपाल छनोट खेलमा जितविहीन बन्यो।
बंगलादेशको जितमा एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले समान एक एक गोल गरे। खेलको छैटौं मिनेटमा जोनीले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ११ औं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाए।
खेलको २६ औं मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो। बंगलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि उनले रातो कार्ड पाएका हुन्।
त्यसपछि खेलको ३५ औं मिनेटमा कप्तान आयुस घलानले रातो कार्ड पाएपछि नेपाल नौ खेलाडीमा समेटियो। बंगलादेशका अजिजुल हक एनान्टोलाई ‘मिडल फिंगर’ साइन देखाएपछि घलानलाई रेफ्री अहमेद इसा मोहमदले सिधै रातो कार्ड देखाएर मैदानबाट पठाए।
अजिजुलले पनि दोहोरो पहेँलो कार्ड पाएसँगै बंगलादेश पनि १० खेलाडीमा समेटिएको थियो। उनले नेपालका कप्तान आयुसलाई जिस्काएका थिए। त्यसपछि खेलको ५२ औं मिनेटमा निजुमले गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाए।
समूह चरणमा नेपालको यो चौथो हार हो। पहिलो खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले कतारसँग ३–१ गोल अन्तरको हार बेहोरेको थियो। नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको थियो।
यता बंगलादेशको यो दोस्रो जित हो। बंगलादेश चार खेलमा सात अंक जोड्यो। बंगलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो। यस समूह बीको विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।