एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-युक्रेन युद्वमा सन्तुलित अडान राखेकोमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई धन्यवाद दिएका छन्।
उज्बेकिस्तानको समरकन्दमा हुँदै गरेको एक सम्मेलनमा दुवै देशका राष्ट्रप्रमुखबीच भेटवार्ता भएको हो। रुसले युक्रेनसँग युद्ध सुरू गरेपछि यी दुई प्रमुखबीच पहिलो भेट हो।
उक्त भेटमा अमेरिकालाई लक्षित गर्दै पुटिनले एकध्रुवीय संसार बनाउने पश्चिमा प्रयासको आलोचना गरेको बीबीसीले जनाएको छ। जवाफमा सीले चीन रुससँग विभन्न विषयमा सहकार्य गर्न इच्छुक रहेको बताएका थिए।
दुई नेताको भेटपछि चीनले जारी गरेको विज्ञप्तिमा विश्वमा धेरै परिर्वतनहरू हुँदै गरेको तर रुस–चीनबीचको मित्रता भने परिर्वतन नभएको भनेर प्रशंसा गरिएको छ।
'विश्वभर धेरै परिवर्तनहरू भइरहेका छन्, तर परिवर्तन नभएको एउटा कुरा रुस र चीनबीचको मित्रता हो। रुस र चीनबीचको साझेदारी पहाडजस्तै बलियो छ। रुस र चीन दुवैले समान र राम्रो अन्तर्राष्ट्रिय परिस्थितिको लागि काम गरिरहेका छन् र यो अन्तर्राष्ट्रिय सम्बन्धको लागि उदाहरण हो,' पुटिनलाई उदृत गर्दै विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, पुटिनले रुस ‘एक चीन नीति’को पक्षमा रहेको र चीनको मामिलामा अन्य देशको हस्तक्षेपको निन्दा गर्ने विज्ञप्तिमा उल्लेख छ। चीनले रुसद्वारा युक्रेनमा भएको आक्रमणलाई खुलेर समर्थन गरेको छैन तर रुससँगको व्यापार बढेको छ र सम्बन्धमा सुधार आएको छ।
पुटिन र चिनफीङले यसअघि बेइजिङमा भएको शीतकालीन ओलम्पिकमा भेट गरेका थिए। चीनले रुससँग संयुक्त सैन्य अभ्यास पनि गरेको छ र रुसले विश्वका अन्य देशमा नाकाबन्दी लगाएपछि चीन रुसको साथमा उभिएको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।