काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण कार्य रोक्न निर्देशन दिएको छ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यालय स्थापना भई असोज २ र ३ मा उम्मेदवार मनोनयनको लागि बन्दसूची पेश गर्ने र निर्वाचनका अन्य कार्यक्रमहरू सञ्चालन हुने गरी राजपत्रमा सूचना प्रकाशित भइसकेको सन्दर्भमा निर्वाचन प्रभावित हुने किसिमका उक्त कार्य नगर्न भूमि आयोगलाई बिहीबार निर्देशन दिएको हो।
‘निर्वाचनका कार्यक्रमहरू सञ्चालन हुने गरी राजपत्रमा सूचना प्रकाशित भइसकेको सन्दर्भमा आसन्न निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौंलाई निर्देशन दिएको छ’ आयोगद्वारा विज्ञप्तिमा जनाइएको छ।
आयोगले कोषबाट रकम खर्च गर्ने गरी वैदेशिक भ्रमण नगर्न पनि संघीय सरकार, प्रदेश सरकार, स्थानीयका वडा समेतलाई निर्देशन दिएको छ। ‘सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्चहरू बेहोर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमण बाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट र नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी गरिने वैदेशिक भ्रमण नगर्न नगराउन नेपाल सरकार, सात वटै प्रदेश सरकार र सात सय ५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको छ’ प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।