काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले भारतबाट जोगी र माग्नेको भेषमा व्यक्तिहरु नेपाल प्रवेश गरेर बच्चा चोरी गरी भारत लैजाने घटना भइरहेको भनी समाजिक सञ्जालमा भ्रामक प्रचार भइरहेको भन्दै त्यस्ता भ्रामक समाचारमा विश्वास नगर्न अनुरोध गरेको छ।
हालसम्म त्यस्ता घटनासम्बन्धी देशभरका कुनैपनि प्रहरी कार्यालयहरुमा उजुरी प्राप्त नभएको पनि ब्यूरोले स्पष्ट पारेको छ।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सोमबार एक सूचना जारी गर्दै भारतबाट जोगी र माग्नेको भेषमा व्यक्तिहरु नेपाल प्रवेश गरेर बच्चाहरु चोरी गरी भारत लगेर आँखा, मृगौलालगायत शरीरका विभिन्न अंग झिकी बिक्री गरेको भनी सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार भइरहेको भन्दै त्यस्ता भ्रामक प्रचारमा विश्वास नगर्न अनुराेध गरेका छन्।
‘सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक समाचार उल्लेख भएझैं देशभर रहेका कुनैपनि प्रहरी कार्यालयहरुमा हालसम्म कुनैपनि माध्यमबाट उजुरी वा सूचना प्राप्त भएको छैन, त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्नुहुन सम्पूर्ण नागरिकहरुमा हार्दिक अनुरोध गर्दछौं’ सूचनामा भनिएको छ ।
त्यस्ता कुनैपनि अपराधसम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत अनुरोध गरिएकाे छ।
यस्तै, सामाजिक सञ्जालमा झुटाे प्रचार गरी भ्रम फैलाउने जो कोहीलाई कानूनबमोजिम कारबाही गरिने समेत ब्यूरोले चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।