काठमाडौं– अविरल वर्षाका कारण दार्चुलामा आएको बाढी पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्। बेपत्तामध्ये चार जना एकै परिवारका रहेका छन्।
जिल्लाको महाकाली नगरपालिका–३ डुङ्गरी क्षेत्रमा एकै घरका चार जना धनसिंह, मानमती, दीपक, दिनेश कार्की बेपत्ता भएका छन्। पहिरोमा पुरिएर नौगाड गाउँपालिकामा ३५ वर्षीय चिमणे ठगुन्नाको मृत्यु भएको र एक जना बेपत्ता हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नौगाड गापाका कासी ठगुन्ना र रम्बा ठगुन्ना रहेका छन् ।
घाइतेलाई उपचारको लागि हेलिकोप्टरमार्फत लैजाने व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उक्त जोखिम क्षेत्रमा सुरक्षाकर्मीले राति नै मान्छे अन्यत्र सारेको छ ।
सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा बाढीले करिब डेढ दर्जन घर बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दले जानकारी दिए। बाढीले लास्को खोलाको झोलुङ्गे पुल पनि बगाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य जारी नै रहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी रहेको छ ।
त्यस्तै महाकाली नगरपालिका–३ लास्कु खोलाले रोकेर राखेका सातवटा गाडीसमेत बगाएको छ। घटनास्थल क्षेत्रमा उद्धारकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।
शुक्रबार रातिदेखि परेको अविरल बर्षाले दार्चुला तिङ्कर सडकमा पर्ने लास्कु खोला माथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको छ। बिहानदेखि पानी पर्न छोडे पनि उक्त क्षेत्रमा नदीले अझै कटान गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।