काठमाडौं– निरन्तरको वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्र आसपासका करिब एक दर्जन घरहरू बगाएको छ।
शुक्रबार रातिदेखिको वर्षाले ठूलो क्षति पुर्याएको स्थानीय एवं उद्योग वाणिज्य सङ्घ दार्चुलाका पूर्व अध्यक्ष मङ्गल ठगुन्नाले जानकारी दिए। लास्कु खोलाको बीचमा फसेका एक पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन्। मानिसहरू रातिदेखिनै घरबाहिर निस्किएका छन्।
बंगाबगडको दशरथ नगर स्कुलसँगै जोडिएका सडक मुनिका सबै घर बाढीले बगाएको छ। बाढीले दार्चुला टिकंर सडकमा पर्ने लास्कु खोला माथिको मोटर पुल बगाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले उद्धार कार्य जारी रहेकाले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको बताए। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।
लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ। नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ ।
कटान अझै जारी रहेकोले बाङगाबगड क्षेत्र उच्च जोखिममा रहेको स्थानीय शिक्षक प्रवेश प्रताप ऐतवालले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।