काठमाडौं– काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रदेशमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दैलेख, डडेल्धुरा र कञ्चनपुर जिल्लाका केही क्षेत्रमा भारी वर्षा भएको छ।
बाढी पूर्वानुमान महाशाखाले दैलेखको ग्वाँटी र आसपास, डडेलधुराको गैबन्दे र कञ्चनपुरको केही क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएकाले लोहोरे खोला, रंघुन, चौधरलगायत साना नदीहरूमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्रहरू, पहिरो जान सक्ने भिरालो जमिनहरूमा बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का भइरहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ।
शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।