काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाएकी छन्। उनले महारानी एलिजाबेथ विश्वले सम्मान गर्न योग्य राजनेता भएको बताइन्।
‘बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनबाट मलाई अत्यन्तै दुःख लागेको छ। नेपाली जनता, नेपाल सरकार तथा म स्वयंको तर्फबाट दिवंगत महारानीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै महाराज चाल्र्स तृतीय, शाही परिवार, बेलायत सरकार र मैत्रीपूर्ण बेलायती जनताप्रति गहिरो समवेदना प्रकट गर्दछु,’ काठमाडौंस्थित बेलायती राजदूतावासमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै राष्ट्रपति भण्डारीले लेखेकी छन्।
शोकको यस दुःखद घडीमा नेपाली जनता तथा नेपाल सरकारको सहानुभूति र साथ रहेको पनि राष्ट्रपतिको शोक सन्देशमा उल्लेख छ। राष्ट्रपति भण्डारीले महारानीको निधनबाट बेलायतले आफ्नो समर्पित अभिभावक र नेपालले एक पुरानो मित्र तथा शुभचिन्तक गुमाएको उल्लेख गरेकी छन्।
‘महारानी एलिजाबेथ विश्वले सम्मान गर्ने योग्य राजनेता हुनुहुन्थ्यो। उहाँले सन् १९६० र १९८६ मा गर्नुभएको नेपाल भ्रमणको सम्झना नेपाली जनताले सदैव गरिरहनेछन्,’ सन्देशमा राष्ट्रपतिले भनेकी छन्।
कर्तव्य, सम्मान र सेवा
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ब्रिटिश महारानी एलिजाबेथको निधनको खबरले आफूलाई दुःखी बनाएको बताएका छन्।
शुक्रबार बिहान एक ट्वीट गर्दै प्रधानमन्त्री देउवाले महारानी एलिजावेथले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित बनाएको बताए। साथै सन् १९६१ र १९८६ मा महारानी एलिजाबेथले दुईपटक गरेको नेपालको राजकीय भ्रमणलाई नेपाली जनताले अत्यन्तै प्रेमपूर्वक सम्झिने गरेको उनले उल्लेख गरे।
महारानीको निधनले नेपालले देश र जनताको एक महान प्रशंसक गुमाएको उल्लेख गर्दै देउवाले बेलायतको राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
९६ वर्षीय महारानीको स्कटल्याण्डस्थित बाल्मोरल क्यासलमा बिहीबार अपरान्ह निधन भएको थियो। दुइ दिन पहिले मात्रै महारानीले बाल्मोरल दरबारमै लिज ट्रसलाई नयाँ ब्रिटिश प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी थिइन्। उनको ७० वर्ष लामो शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्रीहरु नियुक्त भएका थिए।
१७ महिनाअघि (अप्रिल २०२१) मा ९९ वर्षको उमेरमा उनका पति प्रिन्स फिलिपको निधन भएको थियो। ब्रिटेनकी महारानी, एलिजाबेथ द्वितीयको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।