काठमाडौं– एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेपछि सन्दीप लामिछानेले सामाजिक सञ्जाल ट्वीटरको बायो हटाएका छन्।
किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेपछि बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई निलम्बन गरेको थियो। यसअघिसम्म उनी नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान समेत थिए।
क्याप्टेन रहेका लामिछानेले आफ्नो ट्वीटर ह्याण्डको बायोमा ‘क्याप्टेन अफ नेशनल क्रिकेट टीम, नेपाल’ लेखेका थिए। तर पक्राउ पूर्जी जारी भएपछि क्यानले समेत निलम्बन गरेपछि सन्दीपले उक्त बायो हटाएका छन्। अहिले उनले बायोमा आफ्नो जर्सी नम्बर २५ मात्रै राखेका छन्।
भदौ ५ गते एक किशोरीले आफूमाथि बलात्कार भएको भन्दै गत मंगलबार लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी छिन्। जाहेरी परेपछि प्रहरी अनुसन्धान प्रक्रिया अघि बढाउँलै अदालतबाट पक्राउ पूर्जी समेत लिएको छ।
लामिछाने भने क्यारेबियन लिग खेल्न विदेशमा छन्। आफू निर्दोष रहेको भन्दै लामिछानेले शुक्रबार बिहानमात्रै सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन्। आफू चाँडै नेपाल फर्कने र कानून फेस गर्न तयार रहेको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।