राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ।
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइन बस्न’ लगाएको आरोपमा पक्राउ परेर हिरासतमा पुगेका सुरक्षागार्डलाई भेट्न दिएको आरोपमा प्रहरी वृत्त दरबारमार्गका डीएसपीमाथि छानबिन सुरु गरिएको छ।
राष्ट्रिय स्वन्तत्र पार्टीका संयोजक रवि लामिछानेलाई सुरक्षागार्ड शेरजंग गुरुङसँग भेट्न दिएको र हिरासतमा रहेका व्यक्तिको फोटो समेत खिच्न दिएर सार्वजनिक गरेको भन्दै दरबारमार्गका डीएसपी कोपिला चुडालमाथि छानबिन सुरु गरिएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्याललय रानिपोखरीको निर्देशनमा जिल्ला प्रहरी परिसर काठमाडौंले एसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति बनाएर डीएसपी चुडालमाथि छानबिन सुरु गरेको छ।
हिरासतमा रहेका व्यक्तिको फोटो समेत खिचेर सार्वजनिक गरेको पाइएको भन्दै चुडालमाथि छानबिन प्रक्रिया अघि बढाइएको हो।
यही प्रकरणमा दरबारमार्गकै इन्स्पेक्टर विकास तामाङको जिम्मेवारी समेत खोसिएको छ। उनको जिम्मेवारी खोस्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा तानिएको छ।
सोमबार दिउँसो सुरक्षागार्ड गुरुङलाई भेट्न रवि प्रहरी वृत्त दरबारमार्ग पुगेका थिए। जसक्रममा गुरुङले आफूले मन्त्री श्रेष्ठलाई कुनै दुर्व्यवहार नगरको भन्दै गुरुङलाई उदृत गर्दै लामिछानेले सामाजिक सञ्जालमा फोटोसहित स्टेटस समेत लेखेका थिए।
‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन। थाहा भए पनि डिउटी त गर्नै पर्यो’ गुरुङले यसो भनेको भन्दै लामिछानेले लेखेका छन्, ‘यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्।’
मन्त्रीलाई लाइनमा बस्न लगाएको आरोपमा पक्राउ सुरक्षागार्ड गुरुङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारको कसूरमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न भनेपछि उनी दरबारमार्ग प्रहरीको हिरासतमा छन्।
शुक्रबार मन्त्री श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा भिसा आवेदनका लागि पुगेका थिए। बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले लाइनमा बस्न लगाएका थिए।
मन्त्रीका पीएसओले श्रेष्ठ मन्त्री भएको भनेर सम्झाउँदा पनि उनले ‘मन्त्रीसन्त्री चिन्दिनँ’ भन्दै लाइनमा बस्न लगाएर दुव्यर्वहार गरेको आरोप लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।