काठमाडौं- ‘मैले काठमाडौंका वकिलहरुलाई भेटेर न्यायका लागि अपिल गरेकी छु। भाइले न्याय पाउने आशा जीवितै राखेर जनकपुर फर्किँदै छु,' संगमकुमारी महतो मसिनो स्वरमा बोलिन्।
संगमका भाइ दिलिपको हत्या भएको तीन वर्ष बितिसक्यो। तर उनको परिवार न्याय खोज्दै कहिले धनुषा त कहिले काठमाडौंको चक्कर लगाइरहेको छ।
भाइ दिलिपका हत्यारालाई कानुनी कारबाहीको माग गर्दै दिदी संगम बाबुलाई समेत लिएर संघीय राजधानी काठमाडौं आएकी थिइन्। काठमाडौंमा रहँदा विभिन्न निकाय धाएकी उनी अहिले जनकपुर फर्किएकी छिन्।
संगमले भनिन्, 'यही भदौ ३० गते मुद्दाको पेसी छ। त्यस दिन डाक्टरको बकपत्र हुन्छ होला। जान नपाएकोले मलाई पनि खासै थाहा छैन। अब जनकपुर गएर बुझ्छु।’
०००
भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका मिथिला नगरपालिका-५, श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलिप) कलेज बिदामा दुई साताअघि मात्र घर आएका थिए।
२०७६ साल पुस २५ गते घर पछाडिको खोलामा लोडर र टिपर गुडेको अवाज सुनेपछि दिलिप क्रसर रोक्न भन्दै खोलामा पुगेका थिए। ना७ख ६४१३ नम्बरका टिप्पर चालक महोत्तरी बर्दिबास-९ का ३४ वर्षीय मुनिन्द्र महतोले ठक्कर दिएर हत्या गरेको आरोप लागेको थियो।
औराही खोलामा अवैध क्रसर रोक्न पुगेका दिलिपलाई पहिला लिभरले शरीरभरि प्रहार गरेर पछि सडकमा लगेर टिप्परले किचिएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।
एक महिनाको अनुसन्धानपछि २०७६ माघ २२ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भयो। सरकारी वकिलको कार्यालयले विनोद महतो, मुनिन्द्र महतो, सत्यनारायण महतो, जितेन्द्रकुमार महतो, विपिनकुमार महतो, रोशनकुमार यादव र शत्रुधन महतोलाई विपक्षी बनाउँदै मनसायपूर्वक हत्या गरिएको अभियोगमा मुद्दा दायर गरेको थियो।
अभियोगपत्रमा दिलिपलाई यातना दिई क्रुरतापूर्वक मारेको भन्दै सात जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम जन्म कैद सजायको माग गरिएको थियो।
जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनिन्द्र र रञ्जितलाई मात्रै पुर्पक्षका लागि थुनामा पठायो। अदालतमा पेस भएका रोशनकुमार, सत्यनारायण र शत्रुधन २५ हजार रुपैयाँ धरौटीमा रिहा भए।
एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विनोद महतो साधारण तारिखमै २०७७ असोज २६ मा जिल्ला अदालतबाटै छुटेका थिए।
जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय जनकपुरले उच्च अदालतमा निवेदन दियो। यसअघि थुनामा रहेकाहरुले धरौटीमा रिहाइको माग गर्दै निवेदन दिएका थिए। उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रमेश ढकालले २०७७ पुस २ मा जिल्ला अदालतका सबै आदेशलाई सदर गर्ने निर्णय सुनाएपछि उनीहरु थुनामै रहेका छन्।
अदालतको आदेशमा छुटेका विनोदले उल्टै आफ्नो उद्योगमा हस्तक्षेप गरेको भन्दै २०७७ चैत २० मा दिलिपको परिवारमाथि जनकपुर उच्च अदालतमा मुद्दा हाले।
२०७६ माघ २२ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा हालसम्म तीन पटक आदेश भइसकेको छ भने ६ पटक स्थगित गरिएको छ। तीन वर्षमा ११ पटक पेसी चढेको मुद्दामा ९ पटक न्यायाधीशको इजलास तोकियो। मुद्दा दर्ता भए लगत्तै न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले पुर्पक्षको आदेश गरेको थियो।
त्यसपछि २०७८ असोज ७ गते न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासले साक्षी बुझ्ने आदेश गर्यो। हरेक पेसीमा मुद्दा स्थगित भए। एकै पटक २०७८ फागुन २५ गते न्यायाधीश तीर्थराज केसीको इजलासले पुनः साक्षी बुझ्ने आदेश गर्यो। जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोकिन थालेपछि मुद्दा सुनुवाइ हुनेभन्दा स्थगित हुने धेरै भयो।
त्यस पेसीपछि न्यायाधीशहरु भीष्मराज प्रसाईं, परशुराम भट्टराई र श्रीप्रसाद उप्रेतीको इजलासमा पेसी पर्यो। तर सुनुवाइ हुन सकेन। बीचमा एक पटक वकपत्र नभएको भन्दै उक्त प्रक्रिया पूरा गरेर पेस गर्न भनियो। हाल न्याय परिषद्ले जिल्ला न्यायाधीशको सरुवा गरेकाले अदालतमा नयाँ न्यायाधीशहरु गएका छन्।
०००
दिलिपको न्यायका लागि काठमाडौं आएका संगमका बुबा बिरामी परे। संगमले केही दिन बुबालाई उपचार गराइन्। न्यायका लागि दौडधुप पनि गरिन्। काठमाडौं आएर कहिले वकिलकहाँ धाइन् त कहिले पत्रकार सम्मेलन गरिन्।
‘प्रधानमन्त्री र मन्त्रीलाई भेट्ने तयारी पनि गरेकी थिएँ। तर भ्याइँन। ३० गते मुद्दा पेसी छ। बीचमा फेरि आउँछु अनि भेट्छु होला,’ उनले भनिन्।
काठमाडौं आएपछि न्यायका लागि लड्नुपर्छ भन्ने आत्मबल बढेको संगम बताउँछिन्।
‘अचानक अन्यायमा त हामी पो परेको हो। न्याय त्यही गतिमा के पाइन्थ्यो। विस्तारै पाइएला नि,’ संगमले भनिन्, ‘पहिला के गर्दा राम्रो हुन्छ भन्ने नै थाहा थिएन। जनकपुर बसेर न्याय पाउने आश मरेपछि न्यायको खोजीमा काठमाडौं आएको हुँ।’
दिलिपको परिवार भदौ ११ गते काठमाडौं आएको थियो। दिलिपका बुबा रामजीवन, बहिनीहरू संगम र लक्ष्मी तथा भाइ ख्वाइस काठमाडौं आएका थिए। तीन वर्षसम्म न्याय नपाएपछि धनुषाबाट काठमाडौं आउनुपरेको संगमले बताइन्।
‘दाइको चिन्ताले बुबा पनि रोगी बन्दै जानुभएको छ। पछिल्लो एक वर्षमा तीन पटक आइसियु र एक पटक भेन्टिलेटरमा राख्नुपर्यो बुबालाई,’ संगमले भनिन्, ‘उहाँलाई दम पनि छ। औषधि बोकेरै काठमाडौं आएका हौं। यहाँ आएपछि थप उपचार पनि गर्यौं।’
रोगले च्याप्दै गएकाले न्याय नपाउँदै आफूलाई केही हुने हो कि भन्ने बुबाको चिन्ता रहेको उनले सुनाइन्।
‘जिउँदो छँदै छोराले न्याय पाएको हेर्ने इच्छा छ भन्नुहुन्छ,’ संगमले भनिन्, ‘तर न्याय कहिले पाइन्छ थाहा छैन।’ काठमाडौं आएपछि आशा भने जागेको उनले सुनाइन्।
‘समय धेरै पाइएन तर यहाँ भएको छोटो भेटघाट र हौसलाले आश जागेको छ। अबको पेसी हेरौं अनि फेरि काठमाडौं आएर गृहमन्त्री, कानुनमन्त्री र अरु मन्त्रीहरुकहाँ धाउन परे धाउँला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।