काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ।
बैठक बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
महाधिवेशनसँग सम्बन्धित छलफल गर्न बैठक बोलाइएको हो। अधिकारीका अनुसार मंसिर २७-२९ गतेसम्म पोखरामा हुने ११ औँ महाधिवेशनका लागि छनोटको विधि र संख्याबारे निर्णय हुनेछ। १० औँ महाधिवेशनका एक हजार पार्टी सदस्य बराबर तीन प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाइएको छ।
यसपटक १२ सय बराबर तीन प्रतिनिधि छनोट गर्नेगरी सल्लाह भइरहेको छ। एमालेमा हाल ६ लाख ६३ हजार पार्टी सदस्य कायम छन्। यस्तै महाधिवेशनका लागि विभिन्न समिति तथा उपसमिति गठन र जनपरिचालनबारे आवश्यक निर्णय गर्नेछ। महाधिवेशनसँगै एमाले प्रतिनिधिसभा पुनःस्थापनाका लागि जनपरिचालनको योजना ल्याउने रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।