काठमाडौं– सिन्धुलीकी २२ वर्षीय चण्डिका मगर टेम्पो चालक हुन्। उनले रत्नपार्कदेखि सिनामंगल सम्मको रुटमा टेम्पो चलाउँछिन्।  गाउँकै कलेजमा कक्षा ११ सम्म अध्ययन गरिन्। त्यसपछि उनलाई विदेश जाने रहर जाग्यो। बीचैमा पढाइ छाडेर ओमान जाने तयारी गरिन्। सबै प्रक्रिया पूरा भएको थियो। त्यतिबेलै उनका हजुरबाको मृत्यु भयो। 
हजुरबा बितेपछि उनको विदेश जाने सपना तुहियो। चण्डिका घरमै काम गरेर बसिन्। केही समयपछि फेरि विदेश जाने तयारीस्वरुप उनी काठमाडौं आइन्। तर, अहिले उनी वैदेशिक रोजगारीको इच्छालाई थाती राखेर काठमाडौंमा टेम्पो चलाइरहेकी छन्। दिदी–भिनाजुको सल्लाहअनुसार चण्डिकाले टेम्पो चलाउन सिकेकी हुन्। उनले टेम्पो चलाउन थालेको ४ वर्ष भइसकेको छ। उनी अहिले आफ्नै टेम्पो चलाउँछिन्। मालिक पनि आफैँ, चालक पनि आफैँ।  ‘सहकारीबाट ऋण लिएर ८ लाख रुपैयाँमा किनेको टेम्पोको किस्ता चुक्ता गर्न अझै आधा बाँकी छ,’ उनले भनिन्।
टेम्पो चलाएको ९ दिन मात्र भएको थियो। नेपालमा कोभिड–१९को पहिलो लहर आयो। टेम्पो किन्नेबित्तिकै लकडाउन भयो। उनी ठूलो समस्यामा परिन्। त्यही ९ दिनको कमाइले घर धानिन् उनले। ‘ऋणको किस्ता तिर्नु पर्ने पहिलो कमाइ खाएर सकियो।’ उनले भनिन्, ‘त्यसले पनि नपुगेर दिदीभिनाजुको सहयोग मागेँ।’ 
लकडाउन सकिएपछि उनले फेरि टेम्पो चलाउन थालिन्। दैनिक ८ टिप गर्न भ्याउँथिन्। एक टिपमा ११ जना यात्रु टेम्पुमा अटाउँछन्। रत्नपार्कदेखि सिनामंगलसम्मको यात्रुको भाडा २५ रुपैयाँ छ। यात्रु धेरै भएको दिन राम्रै कमाइ गर्छिन्। तर सधैँ यस्तो हुँदैन। कहिलेकाहीँ रित्तै पनि गुड्नु पर्ने हुन्छ।
आफ्नै टेम्पो, आफैँ चालक भएपनि उनको कमाइ ऋण तिर्न र दैनिक जीविकोपार्जनमै ठिक्क छ। ‘टेम्पो चलाएर कमाएको पैसा किस्ता तिर्दै ठिक्क छ। खानु पर्यो। लाउनु पर्यो। यस्तो महँगी छ,’ उनले भनिन्। 
सामान्य खानपानमा उनको दैनिकी गुज्रने गरेको छ। तर पनि महंगीकै कारण पैसा बचत गर्न नसकेको उनको गुनासो छ। ‘महँगी छ। माछा मासु कहिलेकाहीँ चाडपर्वमा खान्छु। व्यापारीहरुले मनपरी मूल्य तोक्छन्। हामी भने मर्कामा छौँ,’ उनले भनिन्, ‘विदेश गएर पैसा कमाउने ठूलो सपना थियो। टेम्पो चलाउन थालेपछि नेपालमै पनि केही गर्न सकिन्छ कि भन्ने आशा पलायो। तर, महंगीले गर्दा सोचेजस्तो हुन सकेको छैन।’ 
सिरहाका ५२ वर्षीय महेन नारायण राम २०५१ साल देखिनै काठमाडौंका फुटपाथमा जुत्ता सिलाउने तथा पोलिस गर्ने काम गर्दै आएका छन्। उनी आजकल धरहरा नजिकैको फुटपाथमा जुत्ता चप्पल सिलाउने तथा पोलिस गर्ने गर्छन्। जुत्ताको लेस, सोल फेर्ने, जुत्ता पोलिस गर्ने ब्रस गर्ने काम गर्छन् उनी। 
बिहान सबेरै खाना पकाएर खान्छन्। आठ बजेपछि धरहराको नजिक पुग्छन्। दिनभरी ग्राहकको पर्खाइमा बस्छन्। जति ग्राहक आउँछन् उती उनको कमाइ हुन्छ। कहिलेकाहीँ रित्तै हात साँझ डेरा फर्किनुपर्ने उनी बताउँछन्। ‘काम हुँदा दिनमा २/३ सय रुपैयाँ कमाइ हुन्छ। महिनामा ६ हजार घरमा पठाउँछु। कोठाभाडा पनि ६ हजार बुजाउँछु,’ उनले भने।
पछिल्लो समय कमाइभन्दा महँगी बढेर गएको उनी बताउँछन्। दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले मर्कामा परेको उनले बताए। दैनिक एक छाक टार्नसमेत धौधौ भएको उनको भनाइ छ। ‘माछामासु त त्यस्तै हो। आलुको चट्नी र भात खान्छु,’ उनले भने, ‘तराईमा घर त छ, तर ऐलानी जग्गामा छ। खेतीपाती गर्न जमिन छैन। आफ्नो जग्गा नहुँदा गरिखाने ठाउँ नभएपछि काठमाडौं आएको हुँ।’
सुन्धारामा (धरहरा नजिकै) चिया बेच्दै आएकी लक्ष्मी धिमाल ४ वर्ष पहिले बबरमहलमा चटपटे बेच्थिन्। चटपटेबाट कमाइ गरेर खान नपुग्ने भएपछि चिया बेच्न थालिन्। अहिले चिया बेचेर पनि खान लाउन धौधौ परेको उनी बताउँछिन्। ‘चिया बेचेर दिनमा ४०० रुपैयाँ जति कमाइ हुन्छ। यस्तो महँगी छ। कसरी घरखर्च पुर्याउने? छोरालाई कलेज पढाउनु पर्यो। तरकारी महँगो छ। जुन तरकारी सस्तो पाइन्छ त्यहीँ किनेर खान्छौँ,’ उनले भनिन्।
दोलखाका नाम परिवर्तित श्यामबहादुर नेपाली विगत १४ वर्षदेखि न्यूरोडका पसलहरुमा भारी बोक्ने काम गर्छन्। उनी न्यूरोडमै डेरा गरेर बस्छन्। उनी दिनभरी नै भारी बोक्ने काम गर्छन्। उनको उक्त कमाइले ५ जनाको परिवारलाई पनि धान्नु पर्छ। 
‘राम्रो काम पाइयोभने दैनिक १५ सय रुपैयाँसम्म कमाइ हुन्छ। छोराछोरी पढाउनु पर्यो। डेराभाडा ८ हजार छ। सुख, दुःख गरेर खाइएको छ। महँगीले गर्दा कहिलेकाहीँ दालभातले मात्रै छाक टार्नु पर्छ,’ उनले भने।
महँगीका बेला सरकारले भने बेवास्ता गरेको भन्ने उनको गुनासो छ। उनी भन्छन्, ‘महँगीको मारमा हामी गरिब दुखी नै पर्छौं। यसबारे सरकारलाई कुनै मतलब छैन। १० रुपैयाँ मूल्यवृद्धि हुँदा घट्ने बेलामा एक–दुई रुपैयाँ मात्रै घट्छ। महँगीले धनीलाई केही असर गर्दैन। हामी गरिब जनता त हो मर्ने भनेको।’ 
तरकारीमा ठगिँदै उपभोक्ता, छैन बजार अनुगमन 
कालीमाटी तरकारी बजारमा प्रतिकेजी २५० रुपैयाँ थोक मूल्य पर्ने ‘कन्य’ च्याउ कलंकीका पसलमा पुग्दा ५०० रुपैयाँ पर्ने गरेको पाइएको छ। त्यस्तै कालीमाटीमा ४० रुपैयाँ प्रतिकिलो पर्ने करेला रविभवन पुग्दा १२० रुपैयाँमा बिक्री भएको पाइयो। 
कलंकी बस्ने धादिङकी सीता तामाङ अघिल्लो वर्ष ३० रुपैयाँ मुठा आउने रायोको साग यो वर्ष ५० रुपैयाँ पर्न थालेको बताउँछिन्।
‘सानै मुठा भए पनि ३० रुपैयाँमा त पाइन्थ्यो नि। अहिले त ५० घटी आउँदैन। अरु तरकारी एक किलो सय रुपैयाँमा आउँदैन। झन् च्याउ त एक पाउकै सय रे।’ उनले महँगीको पीडा सुनाइन्। 
रविभवन बस्ने सिन्धुपाल्चोककी हिरा सापकोटा पनि अहिले तरकारीको भाउ आकासिएको बताउँछिन्।  तरकारी महँगो हुँदा चना केराउ किन्छिन्। चना प्रतिकेजी एक सय ४० रुपैयाँ र केराउ एक सय ६० रुपैयाँ पुगेको बताउँदै उनले चना, केराउ भिजाएर तरकारी पकाउँने गरेको बताइन्।
‘तरकारी महँगो छ। सय रुपैयाँको तरकारी किन्दा एक छाकमात्रै पुग्छ। बरु गेडागुडी महँगै भएपनि  तीन जनाको परिवारलाई दुई केजी किन्दा ५ दिनलाई पुग्छ,’ उनले भनिन्।
दुई महिनामै अकासियो तरकारीको भाउ
पछिल्लो केही साताको अन्तरालमा तरकारीको भाउ अचाक्ली महङ्गिएको छ। गत असार ८ गते कालिमाटी तरकारी बजारमा रातो आलुको थोक ब्रिक्री मूल्य प्रतिकेजी अधिकतम ४८ रुपैयाँ थियो। कुरिलो प्रतिकेजी २५० रुपैयाँ थियो। ठूलो गोलभेडा अधिकतम ४० रुपैयाँ थियो। त्यस्तै, च्याउ ‘कन्य’ प्रतिकेजी अधिकतम ३०० रुपैयाँ रहेको थियो। हरियो धनिया प्रतिकेजी अधिकतम ६० रुपैयाँ थियो। प्याज सुकेको प्रतिकेजी अधिकतम मूल्य ४० रुपैयाँ थियो। स्थानीय काउली प्रतिकेजी अधिकतम ७० रुपैयाँ थियो।  
बुधबार कालिमाटी तरकारी बजारमा तरकारीको मूल्य थप महङ्गिएको छ। यसदिन, रातो आलुको थोक मूल्य प्रतिकेजी अधिकतम ६२ रुपैयाँ पुगेको छ। त्यस्तै कुरिलो प्रतिकेजी अधिकतम ५०० रुपैयाँ, ठूलो गोलभेडा प्रतिकेजी अधिकतम ६० रुपैयाँ पुगेको छ। च्याउ कन्य प्रतिकेजी अधिकतम २५० रुपैयाँ, प्याज प्रतिकेजी अधिकतम ४० रुपैयाँ छ। हरियो धनिया प्रतिकेजी अधिकतम ४५० रुपैयाँ छ। काउली स्थानीय प्रतिकेजी अधिकतम एक सय रुपैयाँ छ।
कालीमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले तरकारीको भाउ बढ्नु कुनै अनौठो नभएको बताए।  ‘मौसम परिवर्तन भएसँगै तरकारीको भाउ पनि परिवर्तन भइरहन्छ। नेपालमा तरकारी खेती सीमित रुपमा मात्रै हुन्छ। अहिले नेपालमा आलु, प्याजको सिजन होइन। यी वस्तु भारतबाट आयात हुने भएकाले पनि यसमा महँगी बढेको हो।’ उनले भने, ‘अहिले चाडपर्वको बेला धनिया, प्याज, आलु जस्ता तरकारीको खपत बढी हुन्छ। यी तरकारीको माग धेरै छ तर सीमित उत्पादन छ। वस्तुभन्दा माग बढी भएपछि मूल्य बढ्छ।’
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले गाडी भाडामा ठगी
दैनिक उपभोग्य वस्तु तथा तरकारीका साथै सार्वजनिक यातायातको भाडा वृद्धिले पनि सर्वसाधारण मर्कामा परेका छन्। महँगो गाडी भाडाको चेपुवामा परेका यात्रु सवारी चालक तथा सहचालकबाट ठगिने घटनाहरु पनि बढ्दै गएका छन्।
कालीमाटी बस्दै आएकी सीता बोगटी अनामनगरस्थित एक बोइज होस्टलमा काम गर्छिन्। दैनिक उनी काखे छोरी च्याप्दै कालिमाटी–अनामनगर धाउँछिन्। त्यसका लागि सार्वजनिक यातायात चढ्नु उनको बाध्यता हो। केही महिना अगाडिसम्म कालिमाटीदेखि बिजुली बजारसम्म १५ रुपैयाँ गाडी भाडा तिर्दै आएकी उनलाई अहिलेको नयाँ गाडी भाडा कति हो भन्ने यकिन थाहा छैन। उनी भन्छिन्, ‘पहिले १५ रुपैयाँ लिन्थे, अहिले कुनै गाडीले २० रुपैयाँ लिन्छन् त कुनैले २५ रुपैयाँ लिन्छन्।’ गाडी भाडा बढ्दा तलब जति त्यसैमा ठिक्क हुने गरेको उनको गुनासो छ।
धादिङकी भवानी कुँवर चाबहिलको एक सहकारी संस्थामा काम गर्छिन्। उनी बिहान क्याम्पस र दिउँसो अफिस जान्छिन्। सहकारीमा काम गरेवापत उनले मासिक १५ हजार कमाउँछिन्। उनी आँफैले कमाएको पैसाले कलेजको शुल्क र कोठा भाडा बुझाउँछिन्। उनले कलेज शुल्कवापत वर्षमा २८ हजार रुपैयाँ तिर्नुपर्छ।  कोठा भाडा तीन हजार रुपैयाँ  बुझाउँछिन्। उनलाई पनि अफिस जाँदा आउँदा बस तथा माइक्रो बसले मनपरी भाडा लिएको तीतो गुनासो सुनाइन्।
‘कुनै बसले बढी भाडा लिन्छ, कुनैले कम लिन्छ। जतिवटा गाडी उती थरी भाडा लिन्छन्। कलंकीदेखि गोङ्गबुसम्मको भाडा ३० रुपैयाँ हो। तर कुनै बसले ३५ रुपैयाँ लिन्छन्।’ उनले भनिन्, ‘मेरो कलेजको आईडी कार्ड छ तर पनि २५ रुपैया लिन खोज्छन्। त्यसैले २० रुपैयाँ ठिक्क पारेर बोक्छु। ५० वा सयको नोट दियो भने त २५ रुपैयाँ नै कटाउँछन्।’
यो श्रृङ्खलाका थप सामग्रीहरु:
 
 
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।