काठमाडौं– मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। यससँगै उनलाई १२ वर्षका लागि जेल चलान गरिएको छ।
मलेसियाको उच्च अदालतले रजाकको पुनरावेदनसम्बन्धी निवेदन खारेज गरेपछि उनी १२ वर्षका लागि जेल चलान भएका हुन्। प्रधानन्यायाधीश तेङ्ग्कु मैमुन तुअन म्याटले पुनरावेदन सर्वसम्मतिले खारेज गरिएको बताएका छन्।
यसअघि सन् २०२० को जुलाईमा एक अदालतले उनलाई सरकारी स्वामित्वको स्वास्थ्य कोष वानएमडीबीको रकम हिनामिना लगायतका सातवटा अभियोगमा दोषी ठहर गरेको थियो। सन् २०२० को जुलाईमा दोषी ठहर भएका ६९ वर्षीय रजाक अपिलपछि जमानतमा रिहा भएका थिए।
एसआरसी इन्टरनेशनलबाट उनको खातामा ४ करोड २० लाख रिङगेट रकम पठाएको पाइए पनि उनले निरन्तर आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका थिए। तर, अब उच्च अदालतको पछिल्लो फैसलासँगै उनले १२ वर्ष जेल बिताउनुका साथै २१ करोड रिङेट जरिवाना पनि तिर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।